बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकामा उप–प्रमुख र एक जना वडाध्यक्षबीच घम्साघम्सी परेको छ । उपप्रमुख नगेन्द्र संग्रौला र वडा न ८ का अध्यक्ष जंगबहादुर कार्कीबीच नगरपालिकामा घम्सा–घम्सी परेको हो । सामाजिक सञ्जाल फेसबुकमा संग्रौलाले वडाध्यक्ष कार्कीमाथि अपमानजनक शब्द प्रयोग गरेर पोष्ट गरेको भन्दै बुधबार दिउँसो नगरपालिकामा लफडा भएको हो ।
संग्रौलाले अर्को व्यक्तिको पोष्टमा गएर वडाध्यक्ष कार्की लक्षित टिप्पणी गरेका थिए । उपप्रमुखको टिप्पणीपछि कार्कीका समर्थक र कार्की स्यंम उप–प्रमुखको कक्षमा पुगेर संग्रौलामाथि जाइलागेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा उपप्रमुख संग्रौलाले ‘नेपाली नागरिकता बेचेर खाने, जेल हाल्नु पर्ने मानिस अदालतले फैसला अड्काउने, पुनः निर्वाचन लड्न अवसर दिने, सोही मुद्दामा परेका मानिस जेल बस्नुपर्ने, राष्ट्रद्रोही मानिसलाई अझै पनि भोट हाल्नु पर्छ’ जस्ता शब्दहरु वडाध्यक्ष कार्कीको विरुद्धमा लेखेका थिए ।
सोही विषयलाई लिएर वडाध्यक्ष कार्की आफ्नो नेतृत्वमा करिब ३० जना युवा लिएर उप–प्रमुख संग्रौलाको कार्यकक्षमा विवाद गर्न गएका थिए । हात हालाहाल नभई दुवैबीचको घम्साघम्सीमा एक अर्काले चर्काचर्की गर्दै अपशव्द प्रयोग गरेका छन् । पछि प्रहरी आइपुगेपछि दुवैजनालाई छुट्याएको थियो ।


















