बिर्तामोड । 

शब्दपत्र डटकम अनलाइनका सम्पादक उद्धव पुरी पुरस्कृत भएका छन् । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको शब्दपत्रका सम्पादक पुरी डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८२ बाट पुरस्कृत भएका हुन् । जनपक्षिय पत्रकार कौडिन्यको नामबाट स्थापित पुरस्कारबाट आज (बुधवार) बिर्तामोडमा पुरी पुरस्कृत भएका हुन् ।

प्रेस सेन्टर नेपाल झापाले जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी कौडिन्य) को नामबाट स्थापना गरेको डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष झापाका पत्रकार पुरी पुरस्कृत भएका हुन् । पुरस्कारको राशि ४२ हजार रुपैयाँ रहेको छ । 

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रन्जित तामाङ, डी कौडिन्यकी धर्मपत्नि यमुना आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले पत्रकार पुरीलाई पुरस्कृत तथा सम्मान गरेका थिए । 

उक्त पुरस्कार गत बर्ष बाट ४२ हजार बनाइएको थियो भने गत बर्ष २१/२१ हजार रुपैयाँका दरले दुई जना पत्रकारलाई पुरस्कृत गरिएको थियो । यस बर्ष भने पत्रकार पुरीलाई प्रदान गरिएको हो । बिर्तामोडबाट प्रकाशित शब्दपत्र डटकमका सञ्चालक तथा सम्पादक पुरी दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका छन् । उनी २०६० सालदेखि ब्लाष्ट टाइम्स दैनिकमा आबद्ध थिए  भने २०७८ सालबाट शब्दपत्र डटकम अनलाइन सञ्चालन गर्दै आएका छन् ।  

२०५९ साल साउन ७ गते आचार्यलाई तत्कालीन शाही नेपाली सेनाले झापाको बुधवारेबाट गिरतार गरी चारआलीस्थित सेनाको ब्यारेकमा पुर्याएर निर्मम ढङ्गले हत्या गरिएको थियो ।  जनपक्षीय पत्रकार आचार्यको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो । यसैगरी प्रेस सेन्टरका प्रदेश सदस्य आईपी भट्टराईले डी कौडिन्य पत्रकारिता पुरस्कारको कोष अभिवृद्धिका लागि ५५ हजार ५ सय ५५ रुपैँयाँ प्रदान गरेका थिए । भट्टराईसहित अन्य दाताहरुलाई समेत सम्मान गरिएको थियो । 

स्वागत सेन्टर झापाका उपाध्यक्ष होमप्रकाश अधिकारीले गरेको कार्यक्रममा सेन्टरका केन्द्रिय सदस्य राजु पाठकले जनपक्षिय पत्रकार कौडिन्यको जीवन बारे प्रस्ट पार्दै पुरस्कृत ब्यक्तित्व पुरीको बिषयमा पनि जानकारी गराएका थिए । 

कार्यक्रममा प्रमुख अतिथि रन्जित तामाङ, डी कौडिन्यकी धर्मपत्नि यमुना आचार्य, नेकपा माओवादी केन्द्र कोशी प्रदेशका उपाध्यक्ष मणिकुमार साम्पादङ (बिजय) नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस सेन्टरका केन्द्रिय सचिव दिपिन राई, प्रेस युनियन झापा सभापति गिरीराज भट्टराई, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, मिडिया नेपालका झापा अध्यक्ष रन्जित प्रसाई, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य, जनपत्रकार मञ्च झापा संयोजक प्रविण अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रमको सञ्चालन सचिव प्रकाश उप्रेती र सह–सचिव राजन साम्पाङले संयुक्त रुपमा गरेका थिए । 

कार्यक्रममा पूर्व अध्यक्ष तारामणि सापकोटा, पूर्व सम्मानीत ब्यक्तित्व बिमल लामिछाने, केशव भट्टराई, लीलाराज झापाली, झुलन रेग्मी, पत्रकार जन्य संघ/संगठनका प्रमुख तथा प्रतिनिधि, नेकपा (माओवादी केन्द्र) का केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडालगायतका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य तथा उपस्थिति रहेको थियो ।