हल्दीबारी।

झापाको हल्दीबारी गाउँपालिका क्षेत्र भित्रका चिया बगानहरूमा फैलिएको ‘टि लुपर’ किराको प्रकोप नियन्त्रणका लागि चिया कृषक, चिया उधमीहरूसँग अन्तरक्रिया भएको छ । कृषि ज्ञान केन्द्र झापा, प्रदेश बाली संरक्षण प्रयोगशालाका प्राविधिकहरूसहित हल्दीबारी गाउँपालिकामा आज (आइतवार) अन्तरक्रिया सम्पन्न भएको छ।

पछिल्लो समय लुपरका कारण चिया कृषकहरू समस्यामा परेका छन्। सयौँ बिगाहा जग्गामा लगाइएको चिया वैशाख, जेठ र असार हरियो पत्ति टिप्ने सबै भन्दा उपयुक्त समय हो ,यहिँ समयमा रोगको प्रकोप फैलिएपछि किसानहरू चिन्तित बनेका छन्।

लुपरका कारण चियाको पात पूर्ण रूपमा छिद्रा परेको छ भने बोटहरूको रंग पनि पहेँलो र कालो हुन थालेको छ। अन्तरक्रियामा किरा नियन्त्रणका लागि विभिन्न विषादी प्रयोग गरिएपनि यसको समाधान नभएको कृषक तथा उधमीले बताए।

हल्दीबारीमा १५ सय बिगाहा भन्दा बढी क्षेत्रफलमा चिया खेती गरिएको छ भने धेरै संख्यामा चिया उधोगहरू पनि सञ्चालनमा रहेका छन्। चियाको बोटसँगै बगानका अन्य रूखहरूमा लुपर बस्ने र एकैपटक धेरै अण्डा उत्पादन गर्ने भएका कारण नियन्त्रण गर्न कठिनाई भएको कृषकहरूले अन्तरक्रियामा जनाएका थिए ।

चियाखेतीमा बढेको प्रकोप नियन्त्रणका लागि प्राविधिकहरूबाट आवश्यक सल्लाहसहित विशादीको बारेमा बाली संरक्षण प्रयोगशाला प्रमुख सरस्वती श्रेष्ठ र कृषि ज्ञान झापाका प्रमुख सागर मिश्रले जानकारी गराइएका थिए। ईमामेक्टिन बेन्जोएट,लुफेन्युरोन, क्लोरानट्रानिलिप्रोल र थायमिथोक्साम प्रयोग गर्न सुझाव दिएका थिए।

यसैगरी कार्यक्रमको अन्तयमा बोल्दै पालिका अध्यक्ष लिङदेनले चिया कृषकहरूको समस्यामा पालिका गम्भिर बनेको र समस्या समाधानका लागि आवश्यक प्राविधिक सहयोग गर्ने बताएका थिए।कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले गरेका थिए।