हल्दीबारी ।
आफन्तले करिव ३७ बर्ष अघि जग्गा दिने भन्दै ढुङ्गेल परिवारलाई आफ्नो जग्गा संरक्षण गरिदिन भनेछन् । त्यही आशले आफन्तको ६ विगाहा जग्गा संरक्षण गरेर ढुङ्गेल परिवार बसेको थियो । जसले उनीहरुलाई १० कठ्ठा जग्गा दिन्छु भनेका रहेछन् । उनको मृत्युपछि उनका सन्तान अर्थात भाई र छोराहरुले दिएनन् ।

ढुङ्गेल दम्पत्ति अहिले बृद्धबृद्धा अवस्थामा छन् । उनीहरुको छोरा छैनन् भने एक छोरीको मृत्यु भइसकेको र अन्य छोरीहरु पनि टाढा–टाढा आफ्नै घर व्यवहार गरिरहेका छन् ।
दिनको छानो, टाटीबेरा र माटोले बनेको बृद्धबृद्धा ढुङ्गेलको घरको छानाको टिन प्वालै प्वाल परेको छ । बर्षायाममा सवै पानी घरभित्रै पस्ने गर्छ । पानी परेपछि ढुङ्गेल दम्पत्ति घर भित्र त्रिपल ओढेर र आफ्ना समाग्री छोपेर कष्टकर जीवन बिताईरहेका छन् ।
उनीहरुको बुढेसकालमा सहारा कोही पनि छैनन् । कहिलेकाँही आफन्त अर्थात भाई र भतिजहरुले गएर उनीहरुको समस्यामा साथ दिने गरेका छन् । बिस. २०४५ सालदेखि १० कठ्ठा जग्गा पाउने आशमा ६ बिगाहा जग्गको संरक्षण गर्दै आएका ढुङ्गेल दम्पत्तीले अहिलेसम्म एक धुरसमेत जग्गा पनि पाउन सकेका छैनन् । जुन आफन्तले जग्गा दिने भनेका थिए, उनको मृत्युपछि जग्गा धनि परिवारले ५ कठ्ठा दिने भनेका थिए । त्यो समेत दिएनन् । पछि पालिकाको न्यायिक समितिमा जनप्रतिनिधि, स्थानीय र दुवै पक्षबिच छलफल भयो । छलफलका क्रममा ५ कठ्ठा नभएर तीन कठ्ठा हाल घर भएकै स्थानमा दिने सहमति भएको रहेछ । त्यो तीन कठ्ठा जग्गासमेत नदिएपछि अहिले बृद्ध ढुङ्गेल न्यायको खोजीमा भौतारिरहेको छन् ।
यो माथिका पंक्तिहरुमा भनिएका पात्रहरु हुन् झापाको हल्दीबारी गाउँपालिका–१ फागुनन्द टोल अर्थात लाटीहोलीका बृद्ध ८४ बर्षिय जयप्रसाद ढुङ्गेल र उनकी श्रीमती ६९ बर्षिय देबीमाया ढुङ्गेल ।
२०४५ सालमा जीवनाथ बरालले साइनोले ढुङ्गेलका ज्वाई पर्ने हल्दीबारी–१ मा आफ्नो ६ बिगाहा जग्गा भएको र त्यसमा चिया बगान लगाउन भन्दै जग्गा संरक्षका लागि ढुङ्गेल परिवारलाई ल्याएको बृद्ध जयप्रसादले बताए । जयप्रसादका अनुसार जीवनाथले १० कठ्ठा जग्गा संरक्षण गरेवापत दिने आवश्सन दिएका थिए । बृद्ध ढुङ्गेल हाल आँखा पनि राम्रो देख्दैनन् भने हिडडुल गर्नसमेत समस्या हुने गरेको बताउँछन् ।
‘उक्त जग्गामा रहेको चिया बगान एक बर्षमै मासियो’ जयप्रसादले भने ‘त्यसपछि सिसौं रोपियो ।’ उनले आफु काँकरभिट्टामा ऐलानी जग्गामा बस्दै गरेको बेला यहाँ जग्गा दिने भनेर जग्गा संरक्षणका लागि ल्याएको बताए । ‘अहिले काँकरभिट्टाको जग्गा करौडौको भएको छ’ उनले भने ‘मेरो अहिले यो हालत छ ।’
उनले ज्वाई जीवनाथको मृत्युसँगै पटक–पटक जग्गा घटाएर तीन कठ्ठा दिने सहमती भएपनि अहिलेसम्म नदिएको भन्दै बृद्ध जयप्रसाद भावुक भए । ‘भान्जा तपाईको बुबाले जग्गा संरक्षण गरेर बसिदिनु म १० कठ्ठा जग्गा दिन्छु साथै घर पनि बनाईदिन्छु भन्नु भएको थियो’ भक्कानिदै जयप्रसादले भने ‘मेरो यो अवस्थामा पनि तपाईलाई दया लागेन ?’ उनले थपे ‘म ८४ बर्षको भए, यो उमेरमा पनि म माथि अन्यायपूर्ण कार्य गर्नु कतिको जायज होला ।’
‘मलाई १० कठ्ठा पनि पर्दैन, गाउँपालिकाको न्यायिक समितिमा भएको सहमति अनुसार नै तीन कठ्ठा दिनुहोला म त्यसमै चित्त बुझाउँछु ।’ जयप्रसादले भने । पर्शुराम बरालको नाममा रहेको जग्गा हाल दामोदर बरालको नाममा सारिएको बताउँदै बृद्ध जयप्रसादले भने ‘दामोदर अस्ट्रेलियन सिटिजन प्राप्त गरेर उतै बस्दै आएका छन् ।’
यता जयप्रसादका भाई केदार ढुङ्गेलले पनि दाजुको अवस्था एकदमै नाजुक भएकाले दिन्छु भनेर पालिकाको न्यायिक समितिमा भएको सहमति अनुसार जग्गा दिनु पर्ने बताए । त्यस्तै जयप्रसादका भतिज अर्का केदार ढुङ्गेलले बृद्ध ढुङ्गेल दम्पत्तीको रेखदेख गर्ने कोही नभएको बताउँदै बेला–बेलामा आफै आएर रेखदेख गर्ने गरेको बताए । यस्तो अवस्थामा काकाकाकीलाई बराल परिवारले अन्याय गरेको भन्दै उनीहरुलाई न्याय दिलाइदिन सम्बन्धीत सवै समक्ष आग्रह गरेका छन् ।