बिर्तामोड ।
वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रवक्तामा ओमप्रकाश भट्टराई मनोनित भएका छन् । संघको प्रथम स्थापना दिवस तथा वार्षिक साधारणसभाले कार्यसमिति सदस्य भट्टराईलाई प्रवक्तामा मनोनयन गरेको हो ।

साधारणसभाले संघको उपाध्यक्षमा सरिता बराल खरेल, महासचिवमा निरकुमार खत्री, सचिवमा पुष्पराज प्रसाईं र राजेन्द्र पौडेल, सह–कोषाध्यक्ष प्रेमबहादुर निरौला र सदस्यमा रिता स्याङ्बो, जनक ल्वागुन, आकाश लिम्बू र हितेष अग्रवाललाई मनोनयन गरेको छ ।
गत वर्ष दर्ता भएर बैशाखमा नयाँ कार्यसमिति चयन गरेको संघले आज (शुक्रवार) बिर्तामोड स्थापना दिवस तथा साधारणसभा सम्पन्नसँगै मनोनयन पदाधिकारी तथा सदस्य घोषणा गरेको हो । यस्तै सल्लाहकार संयोजकमा भानुप्रसाद शिवाकोटीलाई मनोनयन गरिएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल वैभवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, श्रम तथा रोजगार कार्यालय झापाका प्रमुख शुलभ श्रेष्ठ, संघका संस्थापक प्रथम उपाध्यक्ष अजयकुमार देव, संस्थापक सचिव सिपी पाठकलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा संघ संस्थापकलाई कदरपत्रले सम्मान गरिएको थियो ।
संघका अध्यक्ष धनबहादुर पन्धाकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव निरकुमार खत्री र स्वागत प्रथम उपाध्यक्ष राजन सिलवालले गरेका थिए ।
साधारणसभामा अध्यक्ष पन्धाकले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आफ्नै भवन, स्वास्थ्य बीमा, व्यावसायिक कर्जा, व्यवसायी राहत कोष लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताएका छन् ।