बिर्तामोड ।

हालसम्मकै ठूलो परिमाणमा झापाको बिर्तामोडबाट लागू औषध बरामद भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड ५ मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको दुई तले घरको भुईतलाको दुईवटा कोठाबाट औषधिजन्य प्रतिबन्धित लागू औषध बरामद गरेको हो ।

औषधि व्यवसायी भानुभक्त खरेलको गोदामबाट प्रहरीले बरामद गरेको लागू औषध आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले बरामद गरिएको लागू औषध  सहित कारोवारमा सम्लग्न एक व्यक्तिलाई समेत सार्वजनिक गरिएको छ । प्रहरीले ट्रामाडोल हाइड्रोक्लोराइड एक लाख तीन हजार आठसय, ट्रामाडोल हाइड्रोक्लोराइड इंजेक्सन ट्रामाडेक्स  एक हजार ८ सय ७० एम्पुल, ट्रामाडोल र एसिटामिनोफेन ट्याब्लेट चार हजार ५०, डाइसाइक्लोमाइन एचसीएल ट्याब्लेट २० मिलीग्राम ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल ट्याब्लेट १०० मिलीग्राम (जेनेग्रा एमटी रेड १००) आठ हजार ९ सय ट्याब्लेट, मिफेप्रिस्टोन ट्याब्लेटको कम्बिप्याक आई  र मिसोप्रोस्पोल ट्याब्लेट (टर्मिपिल किटहरू) ७ वटा बरामद भएको छ । 

बिर्तामोड ५ निवासी ५० वर्षीय  खरेलले औषधी जन्य प्रतिवन्धित लागूऔषध भण्डारण गरी राखेको अवस्थामा प्रहरीले सनलाइट फर्मामा कार्यरत कर्मचारी अर्जुनधारा ६ दासपुल निवासी  २५ वर्षीय बिनोद घिमिरेलाई समेत पक्राउ गरेको हो । प्रहरीले घिमिरेले प्रयोग गर्दै आएको १–०१–०१३ प ८९०४ नम्वरको मोटरसाइकल समेत बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

 खरेलले लामो समयदेखि मनकुमार संग्रौलाको घरमा अबैध लागू औषधको गोदाम सञ्चालन गर्दै आएको बताइएको छ । उनले  घर भाडामा लिएर दुईवटा कोठामा लागू औषध जन्य प्रतिवन्धित औषधि राखेको बताइएको छ ।