बिर्तामोड। 

 बिर्तामोड नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण कार्य औपचारिक रूपमा सुरु गरेको छ।

नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन समारोहका क्रममा बुधबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले वडा नम्बर ७ का तीन जनालाई प्रतीकात्मक रूपमा लालपुर्जा हस्तान्तरण गरेका थिए । सूर्यमाला लिम्बु, मनकुमार सुव्वा र डिल्लीकुमार लिम्बुले लालपुर्जा प्राप्त गरेका हुन् । 

वडा नम्बर ७ मा ३ सय ४१ घरधुरी लालपुर्जाका हकदार रहेको र पहिलो चरणमा १ सय जनालाई पूर्जा वितरण गर्न सकिने वडाअध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिए । उनले अब दाबी विरोधको लागि तत्कालै सार्वजनिक सूचना जारी गरिने पनि बताए।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले सम्पूर्ण भूमिहीनलाई जग्गाको धनी बनाउने अभियानलाई उच्च प्राथमिकतामा राखिएको बताइन् । उनले कानूनी प्रक्रिया पुरा गरेर सवै वडामा धनिपुर्जा वितरण गरिने जानकारी दिइन् । 

नगरपालिकामा यस अघिनै भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना गरेर काम अघि बढिरहेको छ । आयोगले वडा नम्बर १० मा दावी बिरोध सम्बन्धी सूचना सार्वजनिक गरेको र त्यसमा कुनै पनि निवेदन नपरेको आयोगका बिर्तामोड संयोजक विमल पोख्रेलले जानकारी दिए।

बिर्तामोड नगरपालिकामा यस अघिका आयोगले संकलन गरेको तथ्याङ्क अनुसार २ हजार ५ सय ८६ परिवार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् । तर, पछिल्लो आयोगले फेरि निवेदन दर्ता गराउने समय उपलव्ध गराएपछि केहि थप भएको जनाईएको छ