हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरणका लागि आग्रह गरेको छ । पालिकाले एक सूचना जारी गर्दै लाभग्राहीहरुलाई आर्थिक बर्ष २०८२/०८३ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न साउन १ गतेदेखी भदौं मसान्तसम्ममा नविकरण गर्न आग्रह गरेको हो । 

सामाजिक सुरक्षा नियमावली २०७६ (दोस्रो संसोधन) को नियम ९ बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुले उक्त समयभित्र नविकरण गर्नु पर्ने भएकाले आवश्यक कागजातहरुसहित नविकरण गराउन पालिकाले आग्रह गरेको छ । 

लाभग्राहीहरुलाई भदौं मसान्तसम्ममा आ–आफ्नो वडा कार्यालयमा राष्ट्रिय परिचयपत्रमा आधारित औठाछाप मार्फत नविकरण हुने भएकाले स्वयम उपस्थित भएर सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्न पालिकाले सवैमा जानकारी गराएका छ । 

तोकिएको समयभित्र परिचयपत्र नविकरण नगराएमा सामाजिक सुरक्षा भत्ता प्राप्त नहुने र पुनः नयाँ लाभग्राही सरह निवेदन प्राप्त भएको अर्को महिनादेखि मात्र भत्ता उपलब्ध हुने पालिकाले जानकारी दिएको छ । 

त्यस्तै बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको हकमा भने राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता नभएपनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने पालिकाले जनाएको छ ।