बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका–४ स्थित मेघाबारीमा नवनिर्मित सडकको  निर्माण कार्य मापदण्ड अनुसार नभएको स्थानीयवासीले गुनासो गरेका छन् । सडकमा बिछ्याइएको पेबर्स ठेक्कामा उल्लेखित मापदण्ड अनुसार नभएको स्थानीयबासीले गुनासो गरेका हुन् । बिर्तामोड–४ का स्थानीयवासी भरत राजवंशीले सडकमा बिछ्याइएको पेबर्स मापदण्ड अनुसार नभएको जानकारीमा आएकाले पेवर्सको गुणस्तर परीक्षण गर्नुपर्नेमा जोड दिए ।

‘प्राविधिक कुरा हामीलाई थाहा छैन, गुणस्तरीय नभएको बुझेका छौं’  उनले भने ‘अहिले बिछाइएको पेबर्सको ल्याब परीक्षण गरेर यसको यकिन गरिनुपर्छ ।’ अर्का स्थानीयवासी विष्णुप्रसाद खरेलले सडक गुणस्तरीय हुनुपर्नेमा जोड दिए। सडकमा बिछ्याइएको पेबर्स कम गुणस्तरको भएको जानकारी आएकाले गुणस्तर परीक्षण गरेपछि मात्र सत्यतथ्य बाहिर आउने बताए।

अर्का स्थानीयवासी बिमल उप्रेती गाउँघरमै बन्ने सडक मापदण्ड अनुसारकै बन्नुपर्ने बताए।  उनले भने ‘प्राविधिक कुरा के हो हामी बुझ्दैनौं तर भनेजस्तो काम नभएको कुरा आएको छ यो विषयमा सम्बन्धित निकायले चासो दिनुपर्छ ।’ 

स्थानीयवासीका अनुसार सडकमा बिछाइएको पेवर एम ४० को हुनुपर्नेमा केही नमुना लगेर ल्याबमा परीक्षण गर्दा एम ३५÷३६ मात्र रहेको छ । ‘हामीले नमुना परीक्षण गर्दा टेन्डरमा उल्लेख भएभन्दा कम भारबहन क्षमताको पेवर्स रहेको पायौं’ एक स्थानीयवासीले भने ‘हामीले परीक्षण गर्दा कम पायौं, हामीले भनेर मात्र हुँदैन सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरूले अहिले बिछ्याइएको पेवर्सको नमुना सङ्कलन गरेर ल्याब परीक्षण गर्दा सत्यतथ्य उजागर हुन्छ ।’ जनताको सुविधाका लागि सडक बनाइएकाले मापदण्ड अनुसारकै हुनुपर्ने स्थानीयवासीको माग छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना झापामार्फत लागेको यो पेवर्स सडकको ठेक्का क्यापिटल टेक्नोलोजी मल्टी प्रपोज कन्स्ट्रक्सन याङबरक–१ पाँचथरले पाएको छ । क्यापिटल टेक्नोलोजीले २०८२ वैशाख ४ गतेदेखि निर्माण सम्झौता गरी २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने सडक निर्माणस्थलमा राखिएको योजनापाटीमा उल्लेख छ।

दुवैतिर नालासहित १८ फुटको पेवर्स सडकको भ्याट र पिएस बाहेकलागत ६९ लाख ७० हजार ८१५ रुपैयाँ ३५ पैसा रहेको छ । सडक निर्माणको ठेक्का पाएका क्यापिटल टेक्नोलोजीका दिनेश भट्टराईले सडक मापदण्ड अनुसार नै निर्माण भएको बताए । मापदण्ड अनुसार नै एनएस चिन्ह प्राप्त पेबर्सको प्रयोग गरिएको भट्टराईले बताए । उ उनले भने ‘मापदण्ड अनुसारकै एम ४० को पेवर्स लगाएका छौं ।’

सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद(२ को खरिद कार्यको जिम्मेवारी र खरिद विधि सम्बन्धी व्यवस्थामा नेपाल गुणस्तर चिन्ह (एनएस) प्राप्त वा सोसरह निर्माण सामग्री प्रयोग गर्नुपर्ने उल्लेख भएपनि एनएस प्राप्त नै उल्लेख गरी एकाधिकार हुने गरी झापाका केही पालिकामा पेवर्सको प्रयोग हुने गरेको व्यवसायीको गुनासो छ ।

‘खरिद ऐनको परिच्छेद–२ मा (३) उपदफा (१) र (२) बमोजिम विवरण तयार गर्दा मालसामान, निर्माण कार्य वा सेवाको विशेषताहरु स्पष्टरुपमा बुझिने गरी उल्लेख गर्ने अर्को कुनै उपाय नभएको अवस्थामा बाहेक कुनै खास ब्राण्ड, ट्रेडमार्क, नाम, पेटेण्ट, डिजाइन, प्रकार, उत्पत्ति वा उत्पादकको नाम उल्लेख गर्न सकिने छैन । तर, त्यसरी उल्लेख नगरी नहुने अवस्थामा कुनै खास ब्राण्ड, ट्रेडमार्क, नाम, पेटेण्ट, डिजाइन, प्रकार, उत्पत्ति वा उत्पादकको नाम उल्लेख गरी ुसो सरह भन्ने शब्दहरु उल्लेख गर्न सकिनेछ ।’ उल्लेख छ । 

त्यस्तै परिच्छेद–२ कै (४) बोलपत्र वा पूर्व योग्यता सम्बन्धी कागजातमा मालसामान वा निर्माण कार्य वा अन्य सेवाको प्राविधिक वा गुणस्तरजन्य विशेषताहरूको विवरण र परीक्षण (टेस्टिङ), मार्किङ्ग, प्याकेजिङ्ग, लेबलिङ्ग वा पुष्टिकरणको प्रमाणपत्र (कनफरमिटी सर्टिफिकेट) सम्बन्धी आधार वा संकेत वा शब्दावली उल्लेख गर्दा त्यस्तो मालसामान वा निर्माण कार्य वा अन्य सेवाको कामसँग असम्बद्ध हुने, योग्य बोलपत्रदातालाई खरिद प्रक्रियामा सहभागी हुन कुनै बाधा नहुने उल्लेख छ ।’

कोशी प्रदेशमा एउटा मात्र एनएस प्राप्त पेवर्स उत्पादक कम्पनी रहेकाले सोही कम्पनीद्वारा उत्पादित सामग्री प्रयोग गर्न बाध्यकारी हुनेगरी स्थानीय तहहरूले व्यवस्था गर्ने गरेको व्यवसायीको गुनासो छ ।