झापा । 

वैदेशिक रोजगारीमा पठाउने बहानामा रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । क्यानडा, मलेसिया, कतार र क्रोएसियालगायतका मुलुकमा आकर्षक तलब प्रलोभनमा पारेर रोजगारीमा पठाउने बहानामा युवाहरूबाट करिब पौने २ करोड रुपैयाँ ठगी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ ।

क्यानडा पठाइदिने भन्दै १० जनाबाट एक करोड ३४ लाख रुपैयाँ ठगी गरेको आरोपमा ललितपुर महानगरपालिका–३ का ४४ वर्षीय मनोज महर्जन तथा कतार पठाउने प्रलोभन दिएर १० जनाबाट जनही ३ लाख ५० हजार रुपैयाँको दरले ठगी गरेको आरोपमा सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ घर भएका ३० वर्षीय सबिक राईलाई पक्राउ गरेको छ ।

यस्तै क्रोएसिया पठाइदिने बहानामा ८ लाख रुपैयाँ ठगी गरेको अरोपमा चितवनको राप्ती नगरपालिका–१ का ५३ वर्षीय प्रेमकृष्ण श्रेष्ठ र मलेसिया पठाइदिने भन्दै एक जनाबाट ३ लाख ९९ हजार रुपैयाँ लिएर ठगी गरेको आरोपमा बाराको निजगढ नगरपालिका–१२ स्थायी घर भइ भक्तपुर बस्दै आएका रामबहादुर थिङलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको बताइएको छ ।