झापा ।
मिडिया हाउसका नाममा नक्कली नोट र लागुऔषधको कारोबारको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले मंगलबार मिडिया हाउसको कार्यालयबाटै नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने एक गिरोहलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका—५, की २२ वर्षीय दिलमाया सिंह ठकुरी, सोही ठाउँका ३३ वर्षीय रामबहादुर सिंह, कुशे गाउँपालिका—७, समकोट घर भई हाल भेरीगंगा नगरपालिका—१२, ठकुरी टोलस्थित डेरामा बस्दै आएका ३५ वर्षीय कृष्णबहादुर वली, सोही ठाउँका ३८ वर्षीय प्रेमबहादुर विक र कालिकोटको नरहरीनाथ गाउँपालिका—४, घर भई बाँकेको कोहलपुर नगरपालिका—११, न्युरोडमा ‘जनगर्जन नेटवर्क प्रालि नामक मिडिया हाउस सञ्चालन गरि बसेका ३४ वर्षीय मनबहादुर सहकारी रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट १३ लाख रुपैयाँ बराबरको नक्कली नोट, ३० किलोग्रामभन्दा वढी अफिम जस्तो देखिने पदार्थ र नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण नियन्त्रणमा लिएको छ । यस प्रकरणमा जाजरकोटका जयबहादुर विष्ट फरार छन् । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, जाजरकोटसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
तर, प्रहरीको अनुसन्धान अब यो भन्दा गहिराइमा केन्द्रित भएको छ । के मानबहादुर एक्लैले यो सब गरेका हुन्, वा यसको पछाडि कुनै संगठित गिरोह सक्रिय छ ? बरामद भएका कम्प्युटर र हार्ड ड्राइभलाई डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाएर प्रहरी यो रहस्यको जरोसम्म पुग्ने प्रयासमा छ ।


















