सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले नगरको पहिचानसहितको आगामी आर्थिक बर्षको नीति, बजेट तथा कार्यक्रमको निलो पुस्तक सार्वजनिकीकरण गरेको छ । नगरपालिकाले आज (सोमवार) नगरको पहिचानसहित आर्थिक बर्ष २०८२–०८३ को नीति, बजेट तथा कार्यक्रमको निलो पुस्तक सार्वजनिकिकरण गरेको हो । 

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिचांई तथा उर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा  नगरको पहिचानसहितको निलो पुस्तक सार्वजनिकिकरण गरिएको छ । 

kanapa 1 1


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका मन्त्री कार्कीले नीति, बजेट तथा कार्यक्रमसहितको पुस्तक सार्वजनिककरण गर्ने झापाकै पहिलो नगरपालिका कनकाई भएको भन्दै प्रशंसा गरेका छन् । उनले कतिपय पालिकाहरुले अझै पनि आगामी आर्थिक बर्षको नीति, बजेट र कार्यक्रम सार्वजनिक गर्न नसकिरहेको अवस्थामा कनकाई नगरले आगामी आर्थिक बर्षको पुस्तक नै प्रकाशन गरेर उदाहरणीय कार्य गरेको भन्दै पंशंसासहित खुसी ब्यक्त गरेका छन् । 

नगर प्रमुख पोखरेलले कार्यक्रममा सम्बोधन गर्दै अघिल्ला बर्षहरुका कार्यक्रमलाई निरन्तरता दिदै आगामी आर्थिक बर्षमा कार्यविधि बनाएर थप नयाँ कार्यक्रम गर्ने बताएका छन् । उनले यस बर्ष ६०० घरधुरीलाई स्वास्थ्य बीमा गराएको जानकारी दिदै आगामी बर्ष एक हजार तीन सय घरधुरीलाई स्वास्थ्य वीमा गराउने बताएका छन् । उनले त्यस्तै कार्यविधि बनाएर मृत्यु संकार सहयोग गरिने, नगरका बिपिन्न बर्गका नागरिकका लागि सहज रुपमा खानेपानीको पहुँच पुर्याउन सौलियत गराउने, घरघरमै अक्सििजन ग्यास उपलब्ध गराउने साथै सहयोग गर्नेका लागि अक्षयकोषको स्थापनालगायतका कार्यक्रम गर्ने बताएका छन् ।  

स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले पारेको कार्यक्रममा नगरको आगामी नीति, बजेट तथा कार्यक्रमहरु नगरकी उप–प्रमुख आशा शर्मा शिवाकोटीले प्रस्तुत गरेकी थिइन् । 

उप–प्रमुख शिवाकोटीले चालु आर्थिक बर्ष २०८१–०८२ मा भएका कार्यक्रमको समिक्षात्मक जानकारी दिदै आगामी आर्थिक बर्ष २०८२–८३ को नीति, बजेट र कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उनले आगामी आर्थिक बर्षका लागि ७० करोड ६९ लाख २५ हजार १०१ रुपैयाँको नीति, बजेट तथा कार्यक्रम गरिने जानकारी गराएकी छिन् ।  

सोही कार्यक्रमकाबिच नगरका बिभिन्न क्षेत्रका उत्कृष्ट ब्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।  नगरले दर्जनवढी उत्कृष्ट ब्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान  गरेको हो । 

नगरका उत्कृष्ट करदाता, उत्कृष्ट कृषक, उत्कृष्ट पशुपालक, एसईईमा सामाुदायिक र संस्थागत बिद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी, उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट निर्माण ब्यवसायी, उत्कृष्ट खेलाडी, उत्कृष्ट सञ्चारकर्मी अर्थात फोटो पत्रकार, उत्कृष्ट नगरका कर्मचारी गरी १६ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । फोटो पत्रकारका रुपमा विकास उप्रेतीलाई नगद १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।  

कार्यक्रममा सम्मानीत ब्यक्तित्वका तर्फबाट उत्कृष्ट करदाता कुमारमणि पोखरेल, उत्कृष्ट खेलाडी रोमा थापालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगरकी योजना शाखा प्रमुख जमुना कटुवालले गरेकी थिइन् । कार्यक्रममा नगरका वडाध्यक्षहरुसहित जनप्रतिनिधि, बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो ।