हल्दीबारी । 

केहीदिन यता झापामा अत्याधिक गर्मी बढेको छ । जसका कारण जनजीवन प्रभावित हुँदै गएको छ । प्रयाप्त रुपमा पानी नपर्दा किसानहरुले धान रोप्नसमेत पाएका छैनन् । आज (आइतवार) बिहानैदेखि लागेको चर्को घामका कारण गर्मी बढेसँगै झापामा एक जनाको मृत्यु भएको छ । 

 झापाको हल्दीबारी गाउँपालिका–३ का एक पुरुषको अत्यधिक गर्मीका कारण बाटोमै मृत्यु भएको छ । हल्दीबारी–३ स्थित तुलसीबारीका ५६ वर्षीय जगन्नाथ राजवंशीको गर्मीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजवंशीको शव हिरा कृषि फर्म अगाडि, वडा नं २ र ३ को सिमानास्थित बाटोमा फेला परेको हो ।झापामा केही सातादेखि पानी नपरेको र गर्मी अत्यधिक बढिरहेको अवस्थामा हिँड्दाहिँड्दै ढलेपछि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

घटनापछि हल्दीबारी प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाको अनुसन्धान टोलीले आवश्यक कानुनी कारबाही प्रक्रिया पुरा गरी मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।