सुरुङ्गा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेका छन् ।
शनिवार सुरुङ्गामा आयोजित जग्गा धनीपूर्जा वितरण कार्यक्रममा उनले नगरका पाँच जनालाई जग्गा धनीपूर्जा वितरण गरेका थिए । यस पटक २०८ जनालाई धनीपूर्जा वितरण गर्न लागिएकोमा प्रम ओलीले पाँच जनालाई धनीपूर्जा वितरण गरेर सुरुवात गरेका हुन् ।
प्रम ओलीले भूमि सम्बन्धी सबै समस्या समाधान हुने बताए । कानूनी केही जटिलताले काम गर्न जग्गा धनीपुर्जा वितरण गर्न समय लागेको बताउँदै उनले अब सबै प्रकारका जटिलताको समाधान गरिने बताए।
कार्यक्रममा भूमि आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्म सबै भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गरेर खुसी दिने बताए। आगामी दुई वर्षमा धनीपुर्जा वितरण कार्य सम्पन्न गर्ने उनको भनाइ छ ।
कार्यक्रममा कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले झण्डै ५० वर्षदेखि धनीपुर्जाको पर्खाइमा रहेका कनकाईबासीले धनीपुर्जा पाउने क्रम शुरु भएको बताए। विसं. २०४८ सालमा आफू जनप्रतिनिधि हुँदादेखि धनीपुर्जा वितरण गर्ने कार्यमा लागेको उनको भनाइ छ ।
कनकाई नगर क्षेत्रमा करिब सात हजार घर परिवार धनीपुर्जाको पर्खाइमा रहेको उनले बताए । ‘सातै हजारको जग्गाको नापनक्सा र आवश्यक सबै कुरा पूरा गरेछौं’ उनले भने ‘भेरिफिकेसन गरिसकेकाहरुलाई मात्र धनीपुर्जा दिन सकिने हो भने दुई महिनामा दुई हजार जनालाई धनीपुर्जा दिन सकिन्छ ।’
नगरका दुई सय आठ जनामध्ये प्रधानमन्त्री ओलीले पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेका थिए । कार्यक्रममा धनीपुर्जा प्राप्त गर्नुहुने कनकाई–३ का जगतबहादुर वाग्लेले धनीपुर्जा पाएकोमा खुसी व्यक्त गरेका थिए ।
नगरपालिकाले यसअघि नगरका एक सय ६० जनालाई धनीपुर्जा वितरण गरिसकेको छ । यस पटक कनकाई–३ मा एक सय २७ जना, वडा नम्बर ६ मा ८० जना र वडा नम्बर ८ मा एक जना सुकुम्बासीले जग्गा धनीपुर्जा प्राप्त गर्ने कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिए ।