झापा । 

वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक क्रोएसिया पुगेका ११ जना नेपाली कामदार फिर्ता आएका छन् । क्रोएसिया प्रवेश भिसामा अत्यन्तै छोटो अवधिको कैफियत देखिएपछि उनीहरूलाई विमानस्थलबाटै नेपाल फिर्ता पठाइएको हो ।

उनीहरूलाई चार दिन अनुसन्धानमा राखेर नेपाल फर्काएको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत एवं सूचना अधिकारी अञ्जन न्यौपानेले कामका लागि क्रोएसिया पुगेका उनीहरूको भिसा छोटो अवधिको देखिएपछि त्यहाँका अध्यागमन अधिकारीले शंकास्पद भन्दै फिर्ता पठाएको जानकारी दिए ।  

उनीहरू व्यक्तिगत प्रयासमा गएका हुन् वा म्यानपावर कम्पनीबाट भन्ने विषयमा सोधखोज नगरिएको उनले बताए । अन्यायमा परेको भए उनीहरू आफैंले सम्बन्धित निकायमा उजुरी गर्ने भएकाले अनुसन्धानमा अध्यागमन सम्बन्धी कसुर नदेखिएकाले सहज रूपमा छोडिएको उनको भनाई छ । 

फर्किनेहरूमा अमितकुमार विश्वकर्मा, लक्ष्मण मगर, गीता सुनुवार, दीपक श्रेष्ठ, वीरेन्द्र प्रकाश राना, दीपक चौधरी, अतित तामाङ, पल्सीन लिम्बू, मनिषा कार्की सुब्बा, शंकर सुनुवार र उपेन्द्रप्रसाद वली रहेका छन् । उनीहरू फ्लाई दुबईको विमानबाट मंगलबार काठमाडौं आइपुगेका थिए ।

उनीहरू कामदार भिसामा गत असार २१ गते क्रोएसियाका लागि उडेका थिए । क्रोएसियामा विदेशी कामदारहरू मुख्यतया निर्माण, आतिथ्य र यातायात क्षेत्रमा कार्यरत छन् । ती क्षेत्रमा नेपालीसहित फिलिपिन्स र भारतबाट उल्लेखनीय मात्रामा कामदार पुगेका छन् ।

क्रोएसियामा काम गर्न गैर–ईयू मुलुकका कामदारहरूलाई सामान्यतया कार्य अनुमति र आवास अनुमति दुवै चाहिन्छ । रोजगारदाताहरूले प्रायः विदेशी कामदारलाई काममा राख्नु अघि स्थानीय उम्मेदवारहरूको अभाव प्रमाणित गर्न अनिवार्य गरिएको छ । कामदारको योग्यता, सीप र कामसँग सम्बन्धित अनुभवको प्रमाण पनि अनिवार्य गरिएको छ ।