बिर्तामोड । 

बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’ का लागि संघका पूर्व उपाध्यक्ष गणेशप्रसाद सुवेदीले एक लाख १५ हजार रुपैयाँ प्रदान गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर संघका अध्यक्ष राजु न्यौपाने र कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’लाई उक्त रकम प्रदान गरेका हुन् ।

बिर्तामोड–४ निवासी सुवेदी यहाँका पुराना व्यवसायीका रुपमा परिचित छन् । उनले विगत लामो समयदेखि गणेश किराना स्टोर संचालन गर्दै आएका छन् । उनी विभिन्न सामाजिक तथा धार्मिक संघ संस्थामा समेत आवद्ध छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायीको हितका लागि उदाहरणीय काम गरेको जनाउँदै उनले रकम प्रदान गरेको बताएका छन् । कोषमा संकलित रकम मध्ये सुवेदीले प्रदान गरेको रकम सर्वाधिक हो । यस अघि संघका सदस्य पर्वत कार्कीले एक लाख ११ हजार रुपैयाँ प्रदान गरेका थिए ।

व्यवसायीलाई दैवी प्रकोप लगायतका आपत विपतमा राहत प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा यस अघि नै २० लाख बढी रकम संकलन भइसकेको छ । कोषमा २० लाख रुपैयाँ जम्मा भएसंगै बिर्तामोड उद्योग वाणिज्य संघले कोषको कार्य विधि समेत यस अघि नै सार्वजनिक गरेको थियो । यस अघि संघका पूर्व अध्यक्ष राजेन्द्र कुमार थापाले समेत आफ्नो जन्म दिनमा ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।