बिर्तामोड । 

यस बर्ष अन्य प्रदेशको तुलनामा समयमा पानी नपर्दा कोशी प्रदेशमा धान रोपाइँमा कम भएको छ । कोशी प्रदेशमा हालसम्म दुई लाख ७६ हजार तीन सय ८६ दशमलव ७३ हेक्टरमध्ये ८१ हजार छ सय ३४ दशमलव ९ हेक्टरमा मात्र यस अवधिमा रोपाइँ भएको छ । 

जुन २९ दशमलव ५४ प्रतिशत हो । प्रदेशमा गत वर्ष यही अवधिमा ३४ दशमलव चार प्रतिशत रोपाइँ भएको थियो । यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएर अन्य प्रदेशमा धान रोपाइँमा प्रभाव परे पनि यो समय तयार पार्दासम्म कोशी प्रदेशमा भने राम्रोसँग बर्षा नहँदा सोचेजती प्रभाव परेको छैन । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ, जुन गत वर्षको यही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो । गत वर्ष यति बेलासम्म ४३ दशमलव ५ प्रतिशत रोपाइँ भएको थियो । 

अधिकांश किसान रोपाइँका लागि आकाशे पानीमा निर्भर रहने र यस वर्ष नेपालमा मनसुन अगाडि नै भित्रिदा गत वर्षको तुलनामा धान रोपाइँ बढी भएको बिभागको भनाई छ । 

पूर्वी तराईबाट मनसुन सुरु भएपनि वर्षा कम भएका कारण मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा रोपाइँ पनि कम भएको बताइएको छ । विभागका अनुसार मुलुकभर कूल १३ लाख ८३ हजार सात सय ३२ हेक्टरमध्ये हालसम्म छ लाख २३ हजार एक सय चार दशमलव ४७ हेक्टरमा रोपाइँ भइसकेको छ ।