झापा ।

भीषण वर्षासँगै चीनतर्फबाट आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको पुष्टि गरे । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।

यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको समेत उनले मंगलबार बिहान बताए । 

उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताए । उनले समग्रमा क्षति ठूलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको बताए । 

यता बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । 

उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार गर्न जाने क्रममा ११ जना उद्धारकर्मी नै फसेका बताए । हेलिकप्टरमार्फत उनीहरूको उद्धार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्‍यायो भन्ने सम्बन्धमा  तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले जानकारी दिए ।