झापा ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक र सामाजिक अभियन्ता डा. महावीर पुन हाल आफ्नो आत्मकथामा आधारित पुस्तक ‘महावीर पुनः जीवन र प्रेरणा’ को प्रचार–प्रसार र बिक्री अभियानका साथ नेपालभर यात्रा गरिरहेका छन्। यसै क्रममा आज उनी झापाको गौरादह पुगेका छन्, जहाँ स्थानीय संघ–संस्थाबाट पाएको अतुलनीय सहयोग र एकता देखिएको छ।
दमकस्थित आफ्नो बसाइमा अपेक्षा गरेअनुसारको साथ नपाएको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गरेका डा। पुनलाई गौरादहमा भने फरक र उत्साहजनक अनुभव प्राप्त भएको देखिएको छ। सारथि युवा क्लब, लायन्स क्लब गौरादह र लायन्स क्लब गौरादह युनाइटेड लगायतका संघ–संस्थाले संयुक्त रुपमा उनलाई हार्दिक स्वागत गर्दै अभियानमा पूर्ण समर्थन जनाएका छन्।
गौरादहका विभिन्न स्थानमा पुस्तक बिक्री अभियानलाई तीव्रता दिँदै स्थानीय समुदायले सक्रिय रूपमा सहभागिता जनाइरहेका छन्। संघ–संस्थाहरुले आयोजना गरेका सहकार्य कार्यक्रमहरूमा पुस्तक बिक्रीसँगै सामाजिक चेतना र नवप्रवर्तनका सन्देशहरू प्रवर्द्धन भइरहेको छ। यस क्रममा, सारथि युवा क्लबले कार्यक्रम व्यवस्थापन र जनसम्पर्कमा नेतृत्व गरेको छ भने लायन्स क्लब गौरादह र लायन्स क्लब गौरादह युनाइटेडले संस्थागत तहमा अभियानलाई समर्थन र सक्रिय सहभागिता जनाएका छन्।
डा. पुनले गौरादहको सकारात्मक ऊर्जा र सहयोगी वातावरणको प्रशंसा गर्दै भने, ‘गौरादहले देखाएको आत्मीयता र साथले मेरो अभियानलाई नयाँ शक्ति दिएको छ। यो केवल पुस्तक बिक्रीको अभियान होइन, यो विज्ञान, शिक्षा र सामाजिक नवप्रवर्तनको साझा यात्रा हो।’
उनले सबैलाई आग्रह गरे, ‘गौरादहबासी र सम्पूर्ण संघ–संस्थाहरुले सकेसम्म एक प्रति भए पनि मेरो पुस्तक किनेर यस अभियानमा हातेमालो गर्न सक्नुहुन्छ। यदि कसैले आफ्नै स्थानमा मलाई निम्त्याएर कार्यक्रम आयोजना गर्न चाहानुहुन्छ भने सम्पर्क गर्न पनि आग्रह गर्दछु।’
डा. महावीर पुनको सरल जीवन र उदात्त सोचको यात्रालाई गौरादहले आज जसरी आत्मसात् गर्यो, त्यो सम्पूर्ण समाजका लागि प्रेरणाको स्रोत बन्न सक्छ। विज्ञान, शिक्षा र सामाजिक नवप्रवर्तनका प्रेरक साथी पुनको साथमा गौरादह अब आफूलाई पनि यस यात्राको भागीदार बनाउँदैछ।