हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले ६८ जना अपाङ्गता भएकालाई सहायक सामग्री वितरण गरेको छ । गाउँपालिकाकोको कार्यालय परिसरमा आज (शुक्रवार) एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले उनीहरूलाई सहायक सामग्री वितरण गरेको हो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले गरेकी थिइन् ।

कार्यक्रममा अध्यक्ष लिङ्देनले पालिकाले प्रदान गरेको सहायक सामग्रीको सदुपयोग गर्न आग्रह गरे । अपाङ्गता भएकाहरुको दैनिकीलाई सहज बनाउन सहायक सामग्री वितरण गरिएकाले अधिकतम उपयोग गर्न उनले आग्रह गरे । आज कार्यक्रममा सहायक सामग्री लिन आउन नसकेका÷छुटेकालाई घरघरमा पु¥याउन कर्मचारीहरुलाई निर्देशन समेत दिए।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले अपाङ्गताका भएकाहरुको क्षेत्रमा गाउँपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले सहायक सामग्री खरिदका लागि ठूलो रकम खर्च गरिएकाले ती सामग्रीको सदुपयोग गर्न आग्रह गरे  । सामग्री बिग्रिएमा गाउँपालिकाले मर्मत समेत गरिदिने उनले बताए । 

कार्यक्रममा हल्दीबारी १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष रचना कुलुङले कतिपय सहायक सामग्री प्रयोगविहीन भएकाले आफूले प्राप्त गरेको सहायक सामग्रीको सदुपयोग गर्न आग्रह गरे । गाउँपालिकाले सहायक सामग्री अपाङ्गता भएका नागरिकहरूको सहजताका लागि सहायक सामग्री वितरण गरिएको बताए।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, करुणा फाउण्डेसनसँगको सहकार्यमा र हल्दिबारी गाउँपालिकाले आठ लाख ९६ हजार बराबरको सहायक सामग्री वितरण गरेको गाउँपालिकाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले जानकारी दिइन् ।

गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा ह्वील चियर १३ थान, वैशाखी ७ थान, श्रवण यन्त्र १२ थान, त्रिपल स्टिक ६ थान, एल स्टिक १२ थान, नेक २ थान, एयर मेट्रेस २ थान, स्टेनिङ फ्रेम ३ थान, ट्वाइलेट स्टेचर ६ थान, वकिङ फ्रेम २ थान र सीपी ह्वीलचियर २ थान र सेतो छडी ५ थान वितरण गरिएको थियो । 

कार्यक्रममा गाउँपालिकाका वडा सदस्य बलहादुर वान्तवा, ओपीडी अध्यक्ष लालबहादुर कन्दङ्वा, करुणा फाण्डेशनकी अनुस्का केसी, निश्चल घिमिरे लगायतको आतिथ्य रहेको थियो ।