चारपाने । 

 झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष गीताराज खड्काले जिल्ला समन्वय समिति झापाका सदस्य रिता नेपालीले आफुबिरुद्ध भ्रामक प्रचार गरेको आरोप लगाएका छन् । वडा कार्यालयमा आज ९बुधवार० पत्रकार सम्मेलन गरेर वडाध्यक्ष खड्काले नेपालीले पत्रकार सम्मेलन गरेर हुँदै नभएको कुरा गरेको बताए । उनले नेपालीसँग अपमानजन्य शब्द नबोलेको दावी गरेका छन् । 

‘उहाँहरुको छिमेकीसँग जमिनको बिवाद रहेछ, त्यो बिवाद समाधन गर्न हामी गएका हौं, वडाध्यक्ष खड्काले भने ‘उहाँहरुसँग सौहार्दपूर्ण कुराकानी भएको हो, एक्कासी मिडियामा वडाध्यक्षले अपमानजनक शब्द प्रयोग गरेको भनेर सार्वजनिक भयो ।’ नेपालीले आफ्नो चरित्र हत्या गर्न नबोलेको कुरालाई मिडियामा बोलेको भनेर भ्रम छरेको दावी गरे । 

press bigyapti


‘म दलित समुदायमै हुर्केको मान्छे हो, मैले जातका आधारमा कुनैपनि मान्छेलाई होच्याउनु हुँदैन भन्ने मान्यता राख्छु, मैले कहिले नसोचेको शब्द बोल्यो भन्दै आरोप लाग्दा आश्चर्य लागेको छ, वडाध्यक्ष खड्काले भने ‘बिवाद आफ्नो पक्षमा पार्न ‘दलित कार्ड’ प्रयोग नगर्न मेरो अनुरोध छ ।’ 

‘वडाका गतिविधिमा सहभागी गराएनन् भनेर उहाँ रिसाउनु भएको रहेछ, खड्काले भने ‘उहाँ यही वडाबाट निर्वाचित जनप्रतिनिधि हो, जिल्ला समन्वय समितिमा गएपछि वडामा राजनीतिक भूमिकामा रहनु हुँदैन, वडामा हुने बिभिन्न कार्यमा सहभागी हुन जिससमा राजीनामा हालेर आउनु पर्यो नि ।’ उनले निर्वाचित जनप्रतिनिधि हुँदैमा दोहोरो भूमिकामा रहन नहुने बताए ।

खड्काले भूमिहिन सुकुम्बासीसँग पनि धनिपुर्जा उपलब्ध गराउने भनेर नेपालीले रकम उठाएको आरोप लगाए । स्थानीय राम दनुवार लगायतसँग नेपालीले रकम उठाएको बताए ।  ‘कसैले १०, कसैले ६, कसैले ५ हजार रुपैयाँ दिएको कुरा आयो ‘त्यसपछि मैले भूमि आयोगको रसिद बिना रकम नदिन अनुरोध गरेको हो । फेरी पनि मैले रिता नेपालीले रकम उठाएको भनेर अभिव्यक्ति दिएको थिएन, उनले भने ‘त्यसपछि भूमि सम्बन्धी काम हेर्न वडा सदस्य बिष्णु कडेललाई जिम्मेवारी दिएको हो ।’

नेपालीले यसअघि पत्रकार सम्मेलन गरेर वडाध्यक्ष खड्काले ‘दमिनी’ भनेर अपमान गरेको आरोप लगाएकी थिइन् । उनले राजनीतिक आस्थाका आधारमा त्यही वडाबाट निर्वाचित जनप्रतिनिधिलाई वायस गरेर वडाका क्रियाकलाव सञ्चालन गरेको बताएकी थिइन् । नेपालीले सधियारसँगको बिवादमा वडाध्यक्षले क्षेत्राधिकार मिचेर आफुले लगाएको पर्खाल भत्काएको भन्दै न्यायको माग गरेकी थिइन् । नेपाली र उनका सधियारसँगको बिवाद अहिले नगरपालिकाको न्यायिक समितिमा बिचाराधिन छ । त्यो मुद्दामा किनारा नलागेसम्म वडाध्यक्षले एकपक्षीय ढंगबाट बिवाद समाधान गर्न नमिल्ने नेपाली पक्षको दावी छ ।

यता अर्को पक्ष सुमित्रा राजवंशी र उनकी छोरी सुनिता साहले वडाध्यक्ष खड्काले वाल नभत्काएको बताउँदै आफ्नै परिवारले भत्काएको बताएका छन् । ‘नापजाँच गर्दा यदि उहाँहरुको जग्गा परे दिन तयार रहेका छौं’ राजवंशीले भनिन् ‘आफुले बर्षौदेखि जोतभोग गरेको जग्गा दिन सक्दैनौं ।’ 

उनले चारधुर जग्गा ढकाल परिवारले आफ्नो आमालाई पास गरेर दिएको र अन्दाजी तीनधुर जग्गा जोतभोग गर्दै आएको बताइन् । उक्त तीनधुर जग्गामा बनाएको शौचालय भत्काइदिएको उनले आरोप लगाइन् । राजवंशी आमाछोरीले उक्त तीनधुर जग्गा ढकालले आफुलाई दिएको दावी आएका छन् ।