झापा ।
झापा गाउँपालिका–६ झाटीमा घरमा खाना पकाउने क्रममा ग्यासको सिलिन्डर पड्किदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोही स्थान बस्ने राधेश्याम मण्डलको घरमा खाना पकाउने क्रममा गएराति ८ः४० बजेको समयमा सिलिन्डर पड्किएको हो ।
मण्डलको सिमेन्टको खम्बा, बासको भाटा र टिनको छानो भएको भान्छा घरमा खाना पकाउने क्रममा ग्यासको सिलिन्डरबाट अचानक आगो सल्किएर सिलिन्डर पड्किएको थियो ।
सिलिन्डर पड्किएर आगलागी हुँदा भान्छा घरसँगै रहेको मण्डलको टिनको छानो टाटी बेराको घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडा वर्तनलगायत पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगलागीबाट चार लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उक्त आगलागीमा प्रहरी चौकी शरणमतीको टोली र स्थानीयवासीको सहयोगमा ९ः३० बजे पूर्ण रुपले नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।