झापा ।
वैदेशिक रोजगारबाट फर्केर स्वदेशमा उद्यमशीलता गरिरहेका आठ युवा सम्मानीत भएका छन् । सरकारले वैदेशिक रोजगारबाट प्राप्त ज्ञान, सीप र पुँजी प्रयोग गरी स्वदेशमा उद्यमशीलता गरिरहेका आठ युवालाई सम्मान गरेको हो ।
सम्मानीत हुनेमा कोशी प्रदेशका रविन पोखरेल र राजीव खड्का, मधेशका शंकर सिम्खडा, बागमतीका कुमार श्रेष्ठ, गण्डकीका वसन्तबहादुर खड्का, लुम्बिनीका शोभाखर पौडेल, कर्णालीका लक्ष्मीप्रसाद ढकाल र सुदूरपश्चिमका तर्कसिंह विष्ट छन् ।
यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार झापाका पोखरेलले प्राप्त गरेका छन् । सो पुरस्कारको राशि एक लाख ५० हजार रुपैयाँ रहेको छ । उनले दमकमा श्री भूमिका सीपमूलक तालिम केन्द्र सञ्चालनमा ल्याएर धेरै जनालाई रोजगारी दिएको बताइएको थियो ।
अन्य उद्यमीले जनही ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । स्वदेश फर्की वैदेशिक रोजगारीबाट आर्जित ज्ञान, सीप, अनुभव र पुँजीलाई उद्यमशीलता र रोजगारीको क्षेत्रमा अधिकाधिक उपयोग गर्दै समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्याउन पुरस्कारले प्रेरणा मिल्ने मन्त्रालयले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा श्रममन्त्री शरतसिंह भण्डारीले सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी उनीहरूलाई सम्मान प्रदान गरेका हुन् ।
सम्मानित हुनेहरूले विदेशबाट फर्केर कृषि उद्यम, ट्रेनिङ सेन्टर, पशुपालन, क्याटरिङलगायत व्यवसाय गर्दै आएको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेकाहरूलाई पुरस्कृत गर्न मन्त्रालयले गत पुस १६ गते आवेदनका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।
पुरस्कार छनोटमा रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय स्रोतसाधन र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरेरनगरेको, सामाजिक दायित्व बहन गरेरनगरेको, वातावरणमैत्री प्रविधिको प्रयोग तथा प्रदूषण व्यवस्थापन र उद्यम सञ्चालन गरेको र भौगोलिक क्षेत्रलगायत सात वटा मूल्यांकन सूचकलाई आधारका रूपमा लिइएको थियो । उक्त सूचनाअनुसार ५६ उद्यमीले आवेदन दिएका थिए । तीमध्ये उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको हो ।