बिर्तामोड । 

जिल्ला समन्वय समिति झापाको सदस्य एवम् दलित नेतृ रिता नेपालीले आफूमाथि अर्जुनधारा वडा नं. ५ का वडाध्यक्ष गिताराज खड्का (हरि) ले लामो समयदेखि जातीय विभेद र अभद्र व्यवहार गर्दै आएको बताएकी छन् । आज (मंगलबार)  झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आफुमाथि धेरै अन्याय भएपछि पत्रकार सम्मलेन गर्न बाध्य भएको बताइन् ।

दोस्रो पटक सोही वडामा सदस्य निर्वाचित नेपालीमाथि वडाध्यक्ष खड्काले काम सम्हालेको दुई महिनामा जातको आधारमा विभेद गर्ने, ‘दमिनी’ भन्दै कुरा गरेपछि वडा कार्यालयमै माफी मगाइएको थियो । सदस्य नेपालीका अनुसार माफी मगाएको रिसमा आफुमाथि वडाध्यक्षले पटक–पटक अन्यायपूर्ण काम गर्दै आएका छन् ।

नेपालीलाई विकासमा समेत अवरोध गर्दै आएका वडाध्यक्षले दलबलसहित घरको पर्खाल नै भत्काइदिएको जानकारी दिइन् । गत बिहीवार सदस्य नेपाली घरमा नभएको बेला वडाध्यक्ष खड्काले मान्छे लगाएर पर्खाल भत्काएको उनको आरोप छ ।

उनले भनिन्, ‘मलाई वडाध्यक्षले दिउँसो घरमा भिजट गर्न आउछु भन्नु भएको थियो । म तालिममा भएको बेला मेरो पर्खाल भत्काएर जानुभएछ । उहाँलाई अर्को दिन आउनु भन्दा पनि नमानेपछि, तिमि नआउदा पनि हुन्छ, घर हेरेर जान्छु भन्नुभएको थियो ।’

छिमेकीसँग सीमा विवाद भएपछि सो सम्बन्धमा न्यायिक समितिमा उजुरी समेत परेको थियो । छिमेकीले न्यायिक समितिमा उजुरी परेपछि नेपालीलाई न्यायिक समितिले बोलाएको थियो । उनले आफु तालिममा भएकाले १२,१३ गते आउने सूचना समेत न्यायिक समितिलाई गराएकी थिइन् । वडाध्यक्षले नगरमा गइसकेको मुद्धाको विषयलाई आफै लागेर पर्खा भत्काइदिनु भनेको अख्तियारीको दुरुपयोग भएको छ, नेपालीले भनिन् ।

उनले वडा सदस्य विष्णुप्रसाद कडेंलसहितको समूह ल्याएर पर्खाल भत्काइदिएको दावी गरेकी छन् । पर्खाल भत्काइरहेको बेला घर पुगेकी नेपालीलाई वडाध्यक्ष खड्काले ‘तँ जति ठुलो कोहि छैन, चुनाव जितेको भन्दै सान देखाउछेस, निरिह मान्छेलाई हेप्छेस दमिनी’ भन्दै गाली गलौच समेत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइन् । भिजिट गर्न आउँछु भनेर पर्खाल भत्काइदिएको घटनापछि नेपालीले आफुलाई न्याय दिन सबैमा आव्हान समेत गरेकी छन् ।

सो घटनाको सन्दर्भमा नेपालीले इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएकी छन् । प्रहरीले आफुमाथि भएको अन्यायलाई राम्रोसँग अनुसन्धान गरेर निष्पक्ष न्याय दिनेमा विश्वस्त रहेको बताइन् । आफूलाई वडाध्यक्षले वडामा निषेध गरेको बताउने नेपालीले दलित भनेरै हेपाईमा परेको गुनासो गरेकी छन् ।

वडा सदस्य विष्णु प्रसाद कडेंलले आफूहरुले पर्खाल नभत्काएको जानकारी दिए । उनले अरुले नै पर्खाल भत्काएको इजलाससँगको कुराकानीमा बताएका छन् । यस विषयमा आफै सम्पर्क गरेर बताउने भन्दै फोन राखे । उनले आफुहरु इप्रकामा सोही विषयमा छलफल गरिरहेको बताए ।

यता वडाध्यक्ष गीताराज खड्काले पनि रिताका श्रीमान र २ जना अपरिचित ब्यक्तिबिचमा झगडा हुँदा वाल भत्केको बताउँदै आफुसँग त्यस बिषको कुनै सम्बन्ध नरहेको बताएका छन् । उनले आफु जनताको जनप्रतिनिधि भएको र बारम्वार वाल भत्केको बिषयमा बोलाएकाले गएको जानकारी दिदै आफुले जातीय विभेद नगरेको बताएका छन् । ृनले पनि हाल इप्रकामा त्यस बिषयको छलफलमा रहेको समेत बताएका छन् ।