झापा । 

वैदेशिक रोजगार विभागमा प्रविधिको प्रयोग वढेसँगै गुनासा घट्दै गएका छन् । नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारालाई मूर्त रूप दिन हाल वैदेशिक रोजगार विभागबाट प्रदान गरिने सेवा पूर्ण रूपमा प्रविधिमैत्री बनाएसँगै गुनासा घट्दै गएका हुन् । 

हाल विभागले कानुनको रित पुगेको अवस्थामा निवेदन दिएकै दिन श्रम स्वीकृति दिने काम प्रभावकारी भएको जनाएको छ । संस्थागततर्फ १११ देश खुला गरिएकोमा १०३ देशमा र व्यक्तिगततर्फ १८५ देश खुला गरिएकोमा विभागले हाल १७४ वटा देशमा श्रम स्वीकृति दिने गरेको छ ।

चालु आर्थिक वर्षको हालसम्म पौने ८ लाख नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका निर्देशक उपेन्द्रराज पौड्यालका अनुसार आइतबारसम्म ७ लाख ७८ हजार ३७८ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् । यो संख्या वार्षिकरूपमा हालसम्मकै धेरै हो । गत आर्थिक वर्ष २०८०/०८१ मा ७ लाख ४१ हजार ३९७ जनाले श्रम स्वीकृति लिएका थिए । 

म्यानपावर कम्पनीले पूर्व श्रम स्वीकृतिका लागि अनलाइन एप्लाइ गरेकै दिन कार्यालय समयभित्रै पूर्व श्रम स्वीकृति पाउने गरेका बिभागले जनाएको छ ।  विभागको आन्तरिक नियन्त्रण प्रणलीमा सुधार गरी कर्मचारीहरूलाई कार्यालय समयभित्र सोही दिनको कार्य फछ्र्यौट गर्नुपर्ने प्रणालीको विकास गरिएका कारण सेवा प्रवाहमा सहज भएको हो ।

विभागले श्रम स्वीकृतिको सेवा प्रवाहमा सुधारका साथै वैदेशिक रोजगारीको नाममा ठगीमा परेकाहरूलाई क्षतिपूर्ति दिलाउन उच्च प्राथमिकताका साथ पहल गरेको छ । तर विभागमा व्यक्तिगत ठगीका उजुरी अस्वभाविकरूपमा बढेका छन् । 

उजुरी बढेका कारण म्याद थप र मुद्दा अभियोजनको काममा जनशक्तिको कमी देखिएको छ । ठगीको संख्यामा भएको वृद्धिले प्रहरीले नियन्त्रणमा लिएका थुनुवाहरूलाई वैदेशिक रोजगार न्यायाधिकरणमा लान र ल्याउन सवारी साधनको समेत अभाव भएको छ । विभागले अर्थ मन्त्रालयसँग समन्वय गरी डेडिकेटेड सवारी साधनको व्यवस्था मिलाएर विभागको मुद्दा शाखालाई आधुनिक पूर्वाधारयुक्त बनाइ उजुरी गुनासो सम्बोधन गर्न सबै राजपत्रांकित अधिकृतहरूलाई अनुसन्धान अधिकृत तोकी मुद्दा फछ्र्यौट कार्यमा तीव्रता दिएको विभागको भनाइ छ ।

 वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न र छिटो छरितो राहत उद्धार एवं गुनासो सम्बोधन गर्न टोली निर्माण गरी टोली परिचालन गरिएको छ भने विभागलाई बिचौलिया निषेधित क्षेत्र घोषणा गरिएको बताइएको छ ।