बुट्टाबारी । 

झापाको अर्जुनधारा नगरपालिकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा रोपाईसँगै नगरका पाँच जना उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरले २२ औं राष्ट्रिय धान दिवसको अवसर पारेर रोपाइसँगै कृषितर्फ बिधागत उत्कृष्ट पाँच जना कृषक छनौट गरी सम्मान गरेको हो । 

 अर्जुनधारा नगर कृषि विकास शाखाको आयोजना तथा शनिश्चरे साना किसान सहकारी संस्थाको ब्यवस्थापन सहयोगमा  आज (आइतवार) अर्जुनधारा–११ स्थित सालवारीमा बिभिन्न कार्यक्रमसहित कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ । 

dhan diwas


खाद्यबालीतर्फ बिष्णुप्रसाद भण्डारी, नगदेबालीतर्फ लक्ष्मीप्रसाद पोखरेल, तरकारीवालीतर्फ कमल अधिकारी, बीजबृद्धितर्फ गोकर्ण कार्की र मौरीतर्फ रामचन्द्र भण्डारीलाई नगद जनही आठ हजार रुपैयाँसहित सम्मान तथा पुरस्कृत गरिएको छ । नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उप–प्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तीलचन रिमाल, अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनामलगायतले उनीहरुलाई प्रमाणपत्र र नगदसहित सम्मान गरेका हुन् । 

कार्यक्रममा सम्बोधन गर्दै कृषकलाई कृषि पेशामा प्रोत्साहन गर्ने उदेश्यले नगरले सम्मान तथा पुरस्कृत गरेको नगर प्रमुख गोम्देनले बताए । नेपाल कृषि प्रधान देश भएकाले कृषको सम्मान गर्नु पर्ने नगर उप–प्रमुख पराजुलीले बताइन् । नेपालको मुख्य पेशा कृषि भएको र प्रत्येक बर्ष असार १५ गते नगरले धान दिवसका अवसरमा रोपाइ  गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए । 

पन्चेबाजासहित प्रगति महिला समुहले असारे गीत प्रस्तुत गरेको थियो भने नगर प्रमुख गोम्देन, उप–प्रमुख पराजुलीलगायत उपस्थित सवैले धानसमेत रोपेका थिए । 

महिला र पुरुषको हिले दौड प्रतियोगिता गरिएको थियो । महिलातर्फ प्रथम हुने सुस्मिता गिरी र पुरुषतर्फ प्रथम हुने भूपेन्द्र विष्टलाई जनही नगद एक हजार रुपैयाँ पुरस्कारसमेत प्रदान गरिएको नगर कृषि विकास शाखाकी प्रमुख एन्जिला बिडारीले जानकारी दिइन् । उपस्थित सवैलाई असार १५ को अवसरमा दहीचिउरासमेत खुवाइएको थियो । 

सोही कार्यक्रमका बिच गत असार १० गते निबन्ध लेखन प्रतियोगितामा सहभागी भई बिजेता बनेकालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । निबन्ध लेखनमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने बिद्यार्थीलाई क्रमश पाँच हजार, तीन हजार, दुईहजार र एक हजार नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । निबन्ध लेखन प्रतियोगितामा पहिलो ड्रिका दर्नाल, दोस्रो लोचन बराल, तेस्रो पूजा थापा र चौथो रिषभ पोखरेल भएका थिए ।