झापा ।
आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस झापासहित देशभर २२ औं राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइने गरिन्छ ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको थियो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । यसै क्रममा आज अर्जुनधारा नगरपालिकाले पनि आज धान दिवस बिभिन्न कार्यक्रम गरेर मनाउँदै छ । नगरले अर्जुनधारा–११ सालवाडीस्थित महारानिगञ्ज माध्यमिक बिद्यालय पश्चिम पट्टी धान रोपाईसहित
उत्कृष्ट कृषकलाई सम्मान, निबन्ध लेखन प्रतियोगितामा सफल भएका सहभागीहरुलाई सम्मानलगायतका कार्यक्रम गरेर धान दिवस मनाउँदै छ । यस्तै अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र झापाले कचनकवलमा रोपाइँ कार्यक्रम आयोजना गरेको छ । कचनकवल–७ बागाडागी स्थित रामचन्द्र अधिकारीको खेतमा रोपाइँ आयोजना गरिएको हो ।