झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति सामाखुशीमा आबद्ध वैदेशिक रोजगार व्यवसायीहरूले पीडितको नाममा हुने बलजफ्तीबाट सुरक्षा प्रदान गर्न स्थानीय प्रहरीको ध्यानाकर्षण गराएका छन् । 

शुक्रबार समितिले आयोजना गरेको ‘वैदेशिक रोजगार व्यवसाय र सुरक्षा निकायको भूमिका’ विषयक अन्तरक्रियामा त्यस क्षेत्रमा कार्यालय रहेका वैदेशिक रोजगार व्यवसायीले ध्यानाकर्षण गराएका हुन् ।

समितिका अध्यक्ष हरिबहादुर पाण्डे  क्षेत्रीको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पगेनी, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक निराजन थापा र बालाजु प्रहरीका निरीक्षक शरदविक्रम शाहलगायतको उपस्थिति रहेको थियो ।

स्वेच्छाले वैदेशिक रोजगारमा गएका कामदार घरायसी वा अन्य कारणले विदेशको कानुनी व्यवस्था नबुझी तत्काल उद्धार गर्नुपर्नेलगायतका विषयमा दबाब दिँदै उनीहरूले व्यवसायीका कार्यालयमा अनधिकृत युट्युबर, पीडित तथा उद्धार संघ जस्ता असम्बन्धित पक्षको प्रवेशले असुरक्षा सिर्जना गरेकाले त्यसलाई समयमै नियन्त्रणमा लिन आग्रह गरे ।

कार्यक्रममा समितिका अध्यक्ष पाण्डेले सरकारले शून्य लागत भनेको, तर व्यवसायीले सुरुवातदेखि नै असहमति जनाएको अवस्थामा शून्य लागत कार्यान्वयन हुनुपर्छ भनेर अनुचित दबाब दिने र व्यवसायीहरूलाई तर्साउने तथा धम्की दिने प्रवृत्ति रहेको बताए । अध्यक्ष पाण्डेले पहिले ‘कुन्डले मुन्डले’ बढी मात्रामा आउने गरेको र पछि व्यवसायी र प्रशासनको सक्रियतामा उनीहरू लाखापाखा लागेको भएपनि पार्टीका नाममा चन्दा आतंक  व्यापक भएकाले दबाबमा आएर चन्दा नदिन व्यवसायीहरूलाई आग्रह गरे । उनले कतिपय अवस्थामा व्यवसायी पनि सुध्रिनुपर्ने अवस्था देखिएको भन्दै व्यवसायीले ऐन विपरीत कामदार पठाउन नहुने सुझाव राखे ।

 कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक पगेनीले प्रहरीले व्यवसायीलाई बिनाकारण अनावश्यक दुःख दिन नचाहने भन्दै फौजदारी संहिताअनुसारको ठगी, वैदेशिक रोजगार ठगी र मानव बेचविखन फरक–फरक भएकाले फरक–फरक अनुसन्धान हुने भएकाले त्रसित हुन जरुरी नरहेको बताए । 

प्रहरी नायव उपरीक्षक थापाले  म्यानपावर व्यवसायीविरुद्ध धरपकडमा नलाग्ने, तर म्यानपावर कम्पनीविरुद्ध उजुरी परेको अवस्थामा मेलमिलापका लागि छलफलसम्म गराउने गरेको बताए । 

समिति उपाध्यक्ष तारानाथ अर्यालले समस्यामा परेको कामदार भन्दा कामदारका नाता, एनजिओ, युट्युबर र तेस्रोले समस्या सिर्जना गर्ने गरेको र अन्य पक्षले कमजोरी गर्दापनि आक्रमणको निशानमा व्यवसायी पर्ने गरेकोे भन्दै तेस्रो पक्षको अतिरञ्जना गर्ने प्रवृत्तिलाई सुरक्षा निकायले सुक्ष्मरूपमा हेरिदिन आग्रह गरे ।

समितिका सल्लाहकार नरेन्द्रप्रसाद ढकालले कानुन हातमा लिएर सामाजिक अभियन्ताका नाममा त्रास फैलाउने गरिएको भन्दै त्यसलाई रोक्न माग गरे । व्यवसायीले वैधानिकरूपमा मात्रै कामदार पठाउने भएकाले समस्या आए त्यसमा समितिलाई  समन्वय गर्न आग्रह गरे । उनले अनावश्यक रूपमा ठाडो उजुरी नलिन पनि प्रहरीलाई आग्रह गरे ।