बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित रामचोक–कुमालबाडी सडकको ४ सय ५१ मिटर क्षेत्रमा कालोपत्रे सम्पन्न भएको छ ।  सघनशहरी विकास मन्त्रालयको भ्याट बाहेक एक करोड ६६ लाख रुपैयाँको प्याकेजमा परेको तीन वटा मध्येको यो सडक सम्पन्न भएको हो । कनकाई–३ मा रहेको अग्नि एण्ड सन्स निर्माण सेवा प्रालिले प्याकेजमा लिएको काम धमाधम गर्दैछ । 

यो योजना अन्तर्गत नगरको वडा नम्बर ८ स्थित देउनियाबाट सेन्टजेभियर्स जाने सडकमा ड्रेन निर्माणको काम धमाधम हुँदैछ । सडकको १ सय २० मिटर क्षेत्रमा दुवै साइडमा ड्रेन निर्माण भईरहेको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिए।

यहि योजनामा परेको वडा नम्बर ४ स्थित नेकपा एमाले पार्टी कार्यालय अगाडि अदुवा खोला करीडोरको २ सय ३८ मिटर क्षेत्रमा तटवन्धको काम भईरहेको छ । यहाँ तटवन्धसंगै बाटोमा पेवर्स पनि लगाइने जनाईएको छ ।  निर्माणधिन योजनाको नगर उप–प्रमुख संग्रौला र वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले अनुगमन गरेका थिए ।