झापा । 

नेपाली सेनाले झापामा विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम शुरु गरेको छ । चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले जिल्लाका सामुदायिक र संस्थागत गरी ७ वटा विद्यालयमा उक्त तालिम सञ्चालन गरेको हो । 

अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यात र सेनानी सुरेन्द्र योगीले झापाका ५ वटा बिद्यालयमा सोमवार तालिम उद्घाटन गरेका थिए भने   मंगलबार २ वटा बिद्यालयमा  सि.सं. ५१ जुनियर डिभिजन एनसीसी  तालिम उद्घाटन भएको छ । 

उद्घाटन भएका विद्यालयमा हिजोदेखि तालिम सुरु भएको नेपाली सेनाको चारआलीस्थित अरिदमन गणका सेनानी नरेन्द्रप्रसाद खतिवडाले जानकारी दिए । एक सय दिनको एनसीसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा मोरङको याङशिलास्थित राष्ट्रिय सेवा दलको पूर्वी तालिम शिक्षालयमा हुने अरिदमन गणका गणपति प्रमुख सेनानी बस्न्यातले बताए । 

सो तालिमबाट विद्यार्थीहरु राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जवाफदेहिता, इमान्दारिता र वफादारिताका बारेमा प्रशिक्षित हुने उनले बताए । उनका अनुसार उक्त तालिममा विपद् व्यवस्थापन, सरसफाइ तथा वातावरण लगायतका विषयमा समेत जानकारी गराइन्छ । झापामा यो वर्ष २ सय १० जना विद्यार्थीलाई यस्तो तालिममा सहभागी गराइने गणले जनाएको छ । एउटा विद्यालयबाट छात्र १५ र छात्रा १५ गरि ३० जना तालिममा सहभागी हुन पाउने छन् ।

जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी गराइने उनले जानकारी दिएका छन् ।  यस्तै विद्यार्थीले तालिमका अवसरमा एरोविक्स, तेक्वान्दो, आइकिदो, विपद् व्यवस्थापनमा उद्धार गर्न स्वयंसेवी भूमिका तथा अन्य साहसिक तालिम पाउनेछन् । तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ । “अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्श वाक्य लिएको राष्ट्रिय सेवा दलले “राष्ट्रिय सेवा दल ऐन २०२७” मा आधारित रही वि.सं. २०२२ देखि हालसम्म सिनियर डिभिजनतर्फ १४ हजार १३५ जना र जुनियर डिभिजनतर्फ ६८ हजार ४९ जना गरी कूल ८२ हजार १८४ जना क्याडेट छात्रछात्राहरुले सफलतापूर्वक राष्ट्रिय सेवा दलको तालिम प्राप्त गरिसकेका छन् । 

राष्ट्रिय सेवा दलको बढ्दो मागलाई सम्वोधन गर्न नेपाल सरकारले यस सेवा दलको तालिमलाई बिशेष प्राथमिकतामा राखेअनुरुप यस आर्थिक वर्ष ०८२∕८३ मा नेपालका ७७ वटै जिल्लाका २५७ वटा विद्यालयहरुमा सिनियर १ हजार ८० र जुनियर ६ हजार ६३० गरी जम्मा ७ हजार ७१० जना क्याडेट छात्र छात्राहरुलाई सहभागी गराई राष्ट्रिय सेवा दल तालिम सञ्चालन गर्ने योजना रहेको र सरकारमार्फत नेपाली सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ ।