शनिश्चरे ।
झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरले आज (मंगलबार) नगरसभाको १७ औं नियमित अधिवेशनको अवसरमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नीति तथा कार्यक्रम नगर उप–प्रमुख खड्गमाया पराजुलीले प्रस्तुत गरेकी थिइन् । नगर उप–प्रमुख पराजुलीले चालु आर्थिक बर्षमा भएका विकास योजनाको जानकारी गराउँदै आगामी बर्षका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
नगरले आगामी आर्थिक बर्षका लागि ९५ करोड नौ लाख २१ हजार रुपैयाँ बराबरको नीति तथा कार्यक्रम ल्याएको छ । नगरका बहुबर्षिय योजनाहरुलाई निरन्तरता दिदै आगामी आर्थिक बर्षमा गरिने नीति तथा कार्यक्रमका बिषयमा जानकारी गराइएको थियो ।
नगरले नीति तथा कार्यक्रममा भौतिक निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सडक, उद्योग, खेलकुद, पर्यटन, वन वातावरण तथा विपद व्यवस्थापन लगायतका विषयलाई प्राथमिकतामा राखेको छ ।
नगरले संघबाट वित्तिय समानिकरण, राजश्व बाँडफाँड, सशर्त अनुदान, बिशेष अनुदान, समपूरक अनुदान र प्रदेशबाट वित्तिय समानिकरण, राजश्व बाँडफाँड (सवारी साधन), सशर्त अनुदान, समपूरक अनुदान र आन्तरिकतर्फ आन्तरिक आय, स्थानीय राजश्व बाँडफाँड, जनसहभागीतालगायतलाई समेटेर ९५ करोड ९ लाख २१ हजारको बजेट ल्याएको हो ।
नगरले आर्थिक बिकासमा ३ करोड ५३ लाख, सामाजिक विकासमा ५ करोड ७९ लाख, बनवातारण तथा विपद् ब्यवस्थापनमा २ करोड ६० लाख, पूर्वाधार विकासका लागि १४ करोड ११ लाख, संस्थागत विकास तथा सुशासनतर्फ एक करोड ५० लाख, प्रशासनिक खर्चतर्फ १४ करोड ७८ लाख, वडास्तरीय आयोजनातर्फ ९ करोड ९० लाख, वित्तिय ब्यस्थातर्फ २५ लाख, जनसहभागीतातर्फ २ करोड ५० लाख, संघीय सशर्त अनुदानबाट सञ्चालन हुने आयोजनातर्फ ३२ करोड ९५ लाख, संघीय बिशेष अनुदानबाट सञ्चालन हुने आयोजनातर्फ एक करोड एक लाख, संघीय समपूरक अनुदानबाट सञ्चालन हुने आयोजना तर्फ ३ करोड १४ लाख, प्रदेश सरकारको सशर्त अनुदानबाट सञ्चालन हुने आयोजनातर्फ २ करोड ४३ लाख, प्रदेश सरकारको समपूरक अनुदानबाट सञ्चालन हुने आयोजनातर्फ ६० लाख गरी ९५ करोड ९ लाख २१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीलचन रिमाल, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।