झापा ।
झापाको कमल गाउँपालिका–१ मा रहेको कृष्णेखोलाको किनारमा (बगरमा) एउटा शव फेला परेको छ । आज (मंगलबार) बिहान ७ः३० बजेको समयमा शव फेला परेको हो ।
तत्काल पूर्ण रुपले पहिचान नखुले पनि अनुसन्धानको क्रममा मृतक कमल गाउँपालिका–१ रतनचौनका मिङमारेन्जे शेर्पाको छोरा १२ बर्षिय सुसान शेर्पा भन्ने पहिचान भएको प्रहरीले जनाएको छ ।
शव खोलाले बगाएर ल्याएको भन्ने जानकारी प्राप्त भएसँगै प्रहरी चौकी तोपगाछीबाट प्रहरीको टोली गएर घटना स्थल सुरक्षित राखिएको छ ।
मृतक सुशान गत असार ८ गते अन्दाजी दिनको ३ बजेको समयमा कमल–१ रतनचौनबाट घरमा कोही कसैलाई जानकारी नगराई घरबाट आफुखुसी हिडेर घर फर्किएर नआएको बताइएको छ ।
परिवारले छर छिमेकी, आफ्नो आफन्त, नातागोता समेतमा खोज तलास गर्दा फेला नपरेको उनका बुबा मङमारेन्जे शेर्पाले जानकारी गराउँदै सोमवार ३ बजे प्रहरी चौकी तोपगाछीमा हुलिया निबेदन दिएको बताएका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।