बिर्तामोड । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४६ औं स्थापना दिवसका अवसरमा झापाको बिर्तामोडमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइएको छ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बिर्तामोड नगर कमिटी, मेची राजमार्ग ट्रक कमिटी साथै इकाई कमिटीहरुको संयुक्त आयोजनामा सप्ताह ब्यापी विभिन्न कार्यक्रमहरु गर्दै आज (सोमवार) सम्पन्न गरिएको हो । 

संगठनहरुले गत असार ६ गतेदेखि बिर्तामोडको बसपार्क र बसबिसौनी पश्चिम स्टेण्डमा सरसफाई, दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना, घाइते भएका बिर्तामोडका ढुवानी मजदुर राजु राजवंशीलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आज रक्तदान र दीप्रज्वलन गरेर स्थापना दिवस मनाएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बिर्तामोड नगर सचिव धनबहादुर गिरीले जानकारी दिए । 

आज भएको रक्तदान कार्यक्रममा ५८ पिन्ट रगत संकलन भएको सचिव गिरीले बताए । आज समापन कार्यक्रमको अध्यक्षता बसपार्क इकाई कमिटीका अध्यक्ष दिपक रम्तेल रहेको थियो भने संगठनका केन्द्रीय उप–महासचिव देवी भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्चार्ज बिजय श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख गणेश पौडेल, बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईंलगायतको बिशिष्ठ आतिथ्य रहेको थियो । 

त्यस्तै अर्जुनधारा–११ का जनप्रतिनिधि केशव अधिकारी, पूर्व प्रतिनिधि बिमला बिक, जिफण्ट प्रदेश कमिटी स–सचिब हरिबहादुर अधिकारी, सकुन्तला क्षेत्री, जिल्ला अध्यक्ष छत्रबहादुर रायमाझी, विभिन्न कम्पनी, संघसंगठनकाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।