झापा ।
वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई देशगत क्लष्टरमा विभाजन गरेको छ । हाल कार्य गर्दै गरेका १४३ अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई विभागले सात वटा क्लष्टरमा विभाजन गरेको हो ।
विभागले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ (दोस्रो संशोधनसहित) मा रहेको व्यवस्था बमोजिम विभागको गत चैत १५ को सूचना र वैदेशिक रोजगार पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्थाले माग गरेबमोजिम साउन ५ गतेको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि अभिमुखीकरण तालिम प्रदायक संस्थालाई देशअनुसार समूहगत क्लष्टर विभाजन गरिएको जनाएको छ ।
विभागले पूर्वप्रस्थान अभिमुखीकरण संस्थालाई गल्फ, मलेसिया, जापान र दक्षिण कोरिया, अन्य तथा युरोपेली मुलुक, इजरायल तथा अन्य युरोपेली मुलुक जस्ता समूह बनाएको छ ।