झापा । 

झापाको भद्रपुर नगरपालिका–५ स्थित भन्सार चोकबाट लागूऔषधसहित दुई जना पक्राउ गरी सार्वजनिक गरिएको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएका प्रहरी संयुक्त टोलीले उनीहरुलाई शनिवार दिनको १ः३० बजे नियन्त्रणमा लिएको थियो । 

भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ७७९३ नम्बरको नेटा कम्पनीको ब्लु रंगको कार रोकी चेकजाँच गर्ने क्रममा चालक काठमाडौं काठमाडौं महानगरपालिका–२६ का २४ बर्षिय निवेश कुँवरले चालक बस्ने सिटमा कालो प्लाष्टिकमा ब्राउन सुगर जस्तो देखिने पदार्थ प्याक गरि राखि त्यस माथि आफु बसेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो । 

प्रहरीले ब्राउन सुगर  प्लाष्टिक बाहेक ४७ ग्राम ६९ मिलिग्राम फेला परेको जनाएको छ । उक्त लागू औषध र कारलाई नियमानुसार बरामद गरि लागूऔषध ओसार पसारमा संलग्न कार चालक निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका–७ की २२ बर्षिय नोजिना राना मगरलाई समेत नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापाबाट अनुसन्धानको लागि जिल्ला अदालत झापामा उपस्थित गराई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूरमा अनुसन्धानको लागि दिन ५ म्याद लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।