बिर्तामोड ।

 झापाको शिवसताक्षी नगरपालिकाको कनकाई नहरमा हामफालेका एक वृद्धको मृत्यु भएको छ । शिवसताक्षी–७ ब्याङडाँडाका ७८ वर्षीय राधाकृष्ण सोडारीको मृत्यु भएको हो ।

सोडारीले आज बिहान ८:५० बजे घरबाट अन्दाजी एक किलोमिटर पश्चिम शिवशताक्षी ७ र ११ को बीचमा रहेको नहरमा हाम फालेको प्रहरीले जनाएको छ।

चोकतिर घुम्न जान्छु भने हिँडेका सोडारीको शव घटनास्थलबाट ५०० मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीयवासीका अनुसार सोडारीले घर पश्चिम कनकाइ नहरमा हामफालेको देखेपछि केहीले उद्धार प्रयास गरेका थिए। 

तर, घटनास्थल नहरको साइफन नजिक भएकाले तत्काल उद्धार गर्न सम्भव नभएको एकजना प्रत्यक्षदर्शी बताए । पछि स्थानीय र प्रहरीको सहयोगमा उनको शव निकालिएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली पुगेको र कानूनी प्रकृया अनुसार मुचुल्का उठाउने काम भइरहेको छ।

सोडारीले आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।