बिर्तामोड ।

जनप्रिय बामपन्थी नेता तत्कालीन सांसद द्रोणप्रसाद आचार्य ‘द्रोणाचार्य क्षे त्री’को ३२औं स्मृति दिवस आज झापाको बिर्तामोडमा सम्पन्न गरिएको छ । 

प्रेस चौतारी झापाले हरेक वर्ष असार ६ गते विशेष कार्यक्रमको आयोजना गरी द्रोणाचार्य क्षेत्रीलाई सम्झने गरेको छ । सोही अनुसार आज नयाँ पुस्तालाई द्रोणाचार्य चिनाउन परिचर्चा कार्यक्रम गरिएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनले द्रोणाचार्यहरुको योगदानकै जगबाट नेपालको कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको बताए ।

जनप्रिय नेता द्रोणाचार्य क्षेत्रीको ३२औं स्मृतिमा आयोजित ‘द्रोणाचार्य क्षेत्रीको परिचर्चा’ कार्यक्रममा वरिष्ठ अधिवक्ता एवम् साहित्यकार लिला उदासी र नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य अर्जुन राईले द्रोणाचार्य क्षेत्रीको बारेमा परिचर्चा गरेका थिए ।  

प्रेस चौतारीका कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्लेले द्रोणाचार्य क्षेत्रीको परिचर्चा कार्यक्रम आयोजना गर्नुको औचित्य माथि प्रकाश पार्दै स्वागत गरेका थिए ।

नयाँ पुस्तालाई द्रोणाचार्य क्षेत्रीको योगदानका बारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले बताए । कार्यक्रमको सञ्चालन संगठनका सहसचिव तिलक योञ्जनले गरेका थिए ।