हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले चालु आर्थिक बर्षमा किसानहरुलाई बिभिन्न बिउ बिजन वितरण गरेको छ । पालिकाले उन्नत जातको तोरी, धान र गहुँको बिउ वितरण गरेको हो । 

पालिकाको कार्यालयले ५० प्रतिशत अनुदानमा तोरी, गहुँ र धानका बिभिन्न जातका बिउबिजन बितरण गरेको पालिकाका कृषि शाखा प्रमुख छबिलाल गुरुङले जानकारी दिएका हुन् । 

आर्थिक बर्ष २०८१/०८२ मा ५० प्रतिशत अनुदानमा तीन हजार २४० केजी तोरीको बिउ वितरण गरेको कृषि शाखा प्रमुख गुरुङले बताए । उनका अनुसार गत आर्थिक बर्ष प्रति विघा १२ केजीका दरले दिएको र यस चालु आर्थिक बर्षमा प्रति विघा १० केजीका दरले बितरण गरेको हो । 

पालिकाले ५ लाख ९९ हजार ४०० रुपैयाँको मोरग तोरीको बिउ खरिद गरेर ५० प्रतिशत अनुदानमा कृषकलाई बितरण गरेको हो । ‘अघिल्लो बर्षको तुलनामा यस चालु आर्थिक बर्षमा केही राम्रो उत्पादन भएको छ’ शाखा प्रमुख गुरुङले भने ‘अघिल्लो बर्ष मौसमका कारण उत्पादनमा कम भएको थियो ।’ 

शाखा प्रमुख गुरुङका अनुसार राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्क अनुसार पालिकामा ६०८.५ हेक्टर अर्थात ९१२.७५ बिघा जग्गा तोरी खेतीका लागि योग्य रहेको र तीन हजार ४८८ जना तोरी खेती गर्ने कृषक रहेका छन् । 

यसैगरी सशर्त अनुदानबाट गहुँ र धानको उन्नत जातका बिउबिजन कृषकलाई ५० प्रतिशत अनुदानमा बितरण गरिएको कृषि शाखा प्रमुख गुरुङले बताए । 

उनका अनुसार १० लाख ७५ हजार बजेट मध्ये धान र गहुँको उन्नत जातको बिउ उपभोगमा मूल्य अनुदानमा वितरण गरिएको हो । पालिकामा २९.७४ हेक्टर अर्थात ४३.७४ विघा जमिन गहुँ खेतीका लागि योग्य रहेको र यस बर्ष तीन हजार ५०० केजी गहुँको बिउ बितरण गरिएको उनले बताए । त्यस्तै धानका ९ वटा बिभिन्न उन्नत जातको चार हजार २० केजी बिउ बितरण गरिएको शाखा प्रमुख गुरुङले जानकारी दिए ।