झापा । 

 इजरायल र इरानबीचको द्वन्द्व चर्केपछि वैदेशिक रोजगारीमा त्यस क्षेत्रमा रहेका नेपाली कामदारहरूमा त्रास बढेको छ । तत्कालै समस्या समाधान नभएको अवस्थामा त्यसको प्रभाव समग्र मध्यपूर्व क्षेत्रमा फैलिने सम्भावना हुँदा त्यहाँ काम गरिरहेका नेपालीको सुरक्षाको व्यवस्था र रोजगारीमा नकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार हाल इजरायलमा ७ हजार नेपाली कार्यरत रहेका छन् । द्वन्द्व बढेमा वैदेशिक रोजगार विभागले पठाउने तयारी गरेका थप नेपाली तत्कालै प्रभावित हुने छन् । यसअघि इजरायलका सुरक्षा प्रणालीले आफ्नो सिमानामा बाहिरबाट प्रहार गरिएका क्षेप्यास्त्र र मिसाइल ध्वस्त पार्ने गरेका थिए । त्यसले इजरायलीसहित त्यहाँ कार्यरत विदेशी कामदार आफ्नो सुरक्षामा ढुक्क थिए ।

तर, यसपटक परिस्थिति फेरिएको छ । इरानी क्षेप्यास्त्र राजधानी जेरुसेलमका सडकमा बज्रिएका छन् । इजरायली सेनाले १० जनाको मृत्यु भएको बताएको छ । सडक सुनसान छन् भने सबै  विमानस्थल बन्द गरिएको छ । विगतका घटना भन्दा यसपटक परमाणु केन्द्रहरूलाई निशाना बनाइएको घटनाले धेरैलाई त्रसित बनाएको छ । इरानले इजरायलका मिलिट्री इन्धन डिपोमा निशाना बनाउने गरेका कारण ठूलाठूला दुर्घटनाका त्रास बढेको छ ।

दुई वर्षअघि प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा लर्न एन्ड अर्न कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको मृत्यु भएपछि युद्धले नेपालीलाई तर्साउने गरेको छ । उक्त घटनामा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइको अन्तर्राष्ट्रिय प्रयास हुँदा पनि अवस्था अझै अज्ञात छ ।

इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । इजरायल–इरान युद्धका कारण ठुलो धनजनको क्षति भइरहेको जनाउँदै इजरायलस्थित नेपाली दूतावासले सुरक्षित रहन नेपालीलाई आग्रह गरेको हो । दूतावासले आइतबार एक सूचना जारी गर्दै इजरायली होम फ्रन्ट कमान्डले जारी गरेको निर्देशन पालना गर्न पनि भनेको छ ।

युद्धका कारण शैक्षिक संघसंस्था एवं अत्यावश्यक बाहेकका कार्यालय बन्द गरिएको छ भने सभा÷भेलामा रोक लगाइएको छ । इजरायलमा रहेका नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाका बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन पनि दूतावासले आग्रह गरेको छ । 

अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूतावासको आग्रह छ । ‘इजरायल र इरानबीच चलेको युद्धका कारण जोखिम बढेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन आग्रह गर्छौं,’ दूतावासले भनेको छ ।