हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले पालिकाका भित्रका विकास योजना निर्माण र त्यसको अनुगमनलाई तीव्रता दिइएको छ । यस चालु आर्थिक बर्षमा बिभिन्न विकास योजना शुरु गरिएको छ भने निर्माणधिन विकास योजनाको अनुगमनलाई पालिकाले तीव्रता दिएको हो ।

पालिका भित्र निर्माणधिन भौतिक निर्माण सडक, सडक कालोपत्रे, पुलसहित अन्य विकास योजना र बिभिन्न सीपमूलक तालिमहरुको अनुगमन साथै अन्तरक्रिया र गोष्ठिलाई पनि तीव्र पारिएको छ ।
पालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेबी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), योजना शाखा प्रमुख राजन न्यौपाने, इन्जिनियर लगायत पालिकाका कर्मचारीहरुले निर्माणधिन विकास योजना र तालिम गोष्ठिलाई निगरानी तथा निरिक्षणसहित अनुगमन गरिरहेका छन् ।
प्रदेश सरकारको तर्फबाट काजली पूर्व लक्ष्मी चोक जाने सडक कालोपत्रेको स्थानीयवासीहरुसँगै स्थलगत अनुगमन, काजली चोक ढल निकास, ढडुवा बजार ढलको स्थलगत निरीक्षण, हल्दीबारी– २, ३ र ४ का योजनाहरु स्थलगत अनुगमन, हल्दीबारी–५ अन्तर्गतका योजनाहरुको पनि स्थलगत निरिक्षण तथा अनुगमन गरिएको छ ।
यसैगरी पालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेका बिभिन्न तालिमको समेत अनुगमन भइरहेको छ । पालिका भित्र बिभिन्न अन्तरक्रिया, गोष्ठिीलाई पनि ब्यापक बनाइएको छ । सामुदायिक बिद्यालयको अनुगमनसहित त्यहाँ बिभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरुसमेत भइरहेको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले जानकारी दिए ।
हल्दीबारी–५ मा केही दिन अघि मात्र तीन वटा योजना एकैदिन शिलान्यास भएका छन् । एक करोड ८ लाख ३५ हजारमा सम्झौतामा भएका तीन वटा योजनाको शिलान्यास प्रतिनिधिसभा सदस्य तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्दनेले गरेका थिए । सातघरे दक्षिण विश्रामघाट जाने बाटोमा पेवर्स निर्माण, ५ नम्बर वडा कार्यालय जाने बाटोमा पेवर्स निर्माण र कंन्चनश्री बजारमा पेवर्स लगाउनेको शिलान्यास भएको छ । उक्त योजनाहरु पनि समयमै सक्ने गरी त्यसको निरिक्षण तथा अनुगमन गरिने पालिकाले जनाएको छ ।
यसैगरी पालिकामा सञ्चालन बहुबर्षिय योजनाहरुको कार्यलाई पनि निरन्तरता दिइएको छ । हल्दीबारी–१ स्थित गोलधाप बजारबाट वडा कार्यालय हुँदै धनुषा आधारभूत बिद्यालयसम्म सडक कालोपत्रे भइरहेको छ । उक्त २४०० मिटर सडक करिव २ करोड ६५ लाखमा सम्झौता भएको पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानले जानकारी दिएका छन् ।
त्यस्तै पालिकाको गौरवका योजना अन्तरगत चारकोशे झाडी अर्थात हल्दीबारी ३, ४ र ५ भूतेनी खोलादेखि देवनिया खोलासम्म चरण–चरणमा काम भइरहेको इ. सङ्कल्प खनालले बताए । उनका अनुसार वडा नम्बर ४ र ५ सम्म ग्रावेल भइसकेको छ । ५० फिट चौडाई ९.५ किलोमिटर लम्बाई उक्त सडक पालिकाको गौरवको योजना रहेको उनले बताए ।
भेलागुढी सहिद स्मृति लोकतान्त्रि पार्कको पहिलो चरणमा करिव ४ करोड ७० बराबरको काम सम्पन्न भएको र दोस्रो चरण पार्क निर्माण करिव ४ करोड ६७ लाख बराबरको कार्य भइरहेको इ. खनालले बताए ।
पालिकाको बजेटबाट ३५ किलोमिटर वढी सडक कालोपत्रे भइसकेको योजना शाखा प्रमुख राजन न्यौपाले जानकारी दिए । उनका अनुसार भूतेनी खोलाको पक्की पुल निर्माण भइसको छ भने भुसेडी खोलामा निर्माण हुँदै गरेका २ वडा पुल मध्ये एउटा सम्पन्न भइसकेको छ भने अर्को अन्तिम चरणमा पुगेको छ । पालिकामा निर्माणधिन बहुबर्षिय योजनासहित अन्य विकास योजनाहरुको निरिक्षण र अनुगमनलाई तीव्रता दिइदै आएको पालिकाले जनाएको छ ।