झापा । 

अरिदमन गण चारआली व्यारेकले ‘अभ्यास मनसुन–५’ अन्तरगत झापाका चारवटा पालिकाका करिव  एक हजार जनालाई विपद् सम्बन्धी  जनचेतनासहित अभ्यास गराएको छ । 

 विपद्बाट बढी प्रभावित हुँदै आएका दक्षिणी झापाको कचनकवल, हल्दिवारी, बाह्रदशी र झापा गाउँपालिकाका बासिन्दाहरुलाई लक्षित गरी स्थलगत रुपमै गणले विपद् सम्बन्धी अभ्यास गराएको हो । 

विपद्को समयमा स्थानीय स्तरमा प्राप्त हुने सामग्री र स्रोत साधनहरुको  प्रयोग गर्ने तरिका, सर्पदंश तथा स्वास्थ्य सम्बन्धी जनचेतनासहित अभ्यास गराइएको अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए । 

जेठ २३ गते कचनकवल गाउँपालिकाको वडा नं.५ पाठामारी, २५ गते हल्दिबारी गाउँपालिका २ स्थित हल्दिबारी नमुना माध्यमिक विद्यालय, २७ गते बाह्रदशी गाउँपालिका–३ स्थित राजगढ झापा सामुदायिक भवन र बुधवार जेठ २८ गते झापा गाउँपालिका वडा नं १ को झापा बजारमा  सो कार्यक्रम गरिएको गणपति बस्न्यातले जानकारी दिए । 

 स्थलगत तालिम अभ्यास दौरान गणका गणपतिसहित ३५ जना विपद् सम्बन्धी दक्ष जनशक्तिले अभ्यास गराएका थिए । अभ्यासबाट  चार पालिकाका ९ सय जना स्थानीय बासिन्दा  लाभान्वित भएको जनाइएको छ ।