बिर्तामोड ।
सहकारी संस्थाबाट ऋण लिएर नतिर्ने र संस्थाले ताकेता गर्दा कर्मचारीलाई ज्यान मार्ने धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिने खगेन्द्र क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

साविक बुधबारे ६ घर भई हाल विर्तामोड–१ मा बस्दै आएका क्षेत्रीले गत बिहीबार बिहान फोन गरी घरमै आएर ज्यान मार्ने धम्की दिएको भन्दै शुक्रबार संस्थाले पत्रकार सम्मेलन गरी घटनाको जानकारी गराएको थियो । संस्थाले दोषीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेको थियो ।
क्षेत्रीले संस्थाबाट २०७७ साल चैत्र २ गते २५ लाख रुपैयाँ ऋण लगेका थिए । सो साँवाको हालसम्म ४४ लाख २९ हजार ३४५ रुपैयाँ ऋण पुगेको र सो को ताकेता गर्न संस्थाका सञ्चालक समिति सदस्य तथा ऋण असुली समिति संयोजक भीमबहादुर पौडेल घरमा जाँदा कत्ति निकालेर धाकधम्की दिएको संस्थाले जनाएको छ ।
ऋण नतिरेपछि संस्थाले कानुनी बाटोबाट जाने जानकारी गराउन पत्राचार गरेपछि कार्यकारी प्रमुख पौडेलमाथि क्षेत्रीले धम्क्याएको संस्थाका अध्यक्ष किशोर भट्टराईले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको डीएसपी विजय श्रेष्ठले जानकारी दिए ।