झापा । 

वैदेशिक रोजगारका लागि विदेश जाने कामदारले अव धेरै रोगको स्वास्थ्य परीक्षण गर्नु पर्ने भएको छ ।  कामका लागि विदेश जानेका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परीक्षण दायरा विस्तार गरेको छ । 

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४६ बमोजिम गठित विशेषज्ञ समितिको गत जेठ २३ मा बसेको विशेषज्ञ समूहसहितको बैठकबाट भएको निर्णय र सोही दिनको मन्त्रीस्तरको निर्णायानुसार स्वास्थ्य परीक्षणको दायरा विस्तार गरिएको हो । 

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को दफा ११ छ र अनुसूची–१ मा व्यापक रूपमा परिवर्तन भएको छ । कार्यविधि मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको छ ।

नयाँ सूचीअनुसार श्रम गन्तव्य देश अनुसार र आवश्यकताअनुसार डाक्टरको सिफारिसका आधारमा मधुमेह मेलिटस, उच्च रक्तचाप, फुफ्फुसीय क्षयरोग, मुटु रोग, मिर्गौला रोग, श्वासप्रश्वास रोग, पेप्टिक अल्सर रोग, मिर्गी, क्यान्सर रोग तथा पेटको भिडियो एक्सरे परीक्षण गर्नु पर्ने भएको छ ।

सबै श्रम गन्तव्य देशहरूका लागि अनिवार्य रूपमा एचबी प्रतिशत, टीएलसी, डिएलसी प्लेटलेट्सलगायतका प्रयोगशाला परीक्षण गर्नु पर्नेछ ।

क्षयरोगअन्तर्गत छातीको एक्स–रे, सीरम युरिया सीरम क्रिएटिनिन, सीरम इलेक्ट्रोलाइट्स, सोडियम, पोटासियमसहित कलेजो र थाइराइड पनि परीक्षण गर्नुपर्नेछ । प्रत्येक गन्तव्य देशहरूको विशिष्ट आवश्यकताअनुसार स्वास्थ्य परीक्षण गरिने कार्यविधिमा उल्लेख छ । शुल्कहरू नेपाल सरकारले तोकेको दर अनुसार लागू हुने बताइएको छ ।