बिर्तामोड,।
झापाली महिला पत्रकारहरुको साझा संस्था नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा ५० लाख रुपैयाँ पुगेको घोषणा गरिएको छ । बिर्तामोडमा आयोजित एक समारोहका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आज (आइतवार) नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले कोषमा ५० लाख पुगेको घोषणा गरेकी हुन् ।

२०६९ सालमा स्थापना गरिएको संस्थाले पत्रकार महिलाहरुको स्वास्थ्योपचार, लेखनवृत्ति तथा प्रोत्साहनका लागि अम्बिका भण्डारी अध्यक्ष रहेको बेला अक्षयकोषको सुरुवात गरेको थियो । २०७५ सालदेखि सुरु भएको अक्षयकोषमा हाल ५१ लाख ५१ हजार रुपैयाँ पुगिसकेको संस्थाकी कोषाध्यक्ष स्वास्तिका आचार्यले जानकारी दिइन् ।
कोषमा संस्थागत तथा व्यक्तिगत सहयोग प्राप्त हुँदै आएको र एक करोड रुपैयाँको अक्षयकोषको लक्ष्य राखिएको अक्षयकोष व्यवस्थापन तथा परिचालन समितिकी संयोजक जोस्ना श्रेष्ठले बताइन् ।
सोही कार्यक्रमका बिच पूर्वराष्ट्रपति भण्डारीले नारी सञ्चार गृहले प्रकाशन गरेको सञ्चारमा नारी पुस्तक विमोचन गरेकी छिन् । पुस्तकमा ४३ जना लेखकको रचनाहरु रहेका छन् । कार्यक्रमकै बीच अक्षयकोषलाई आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ । कोषमा पछिल्लो समय सहयोग गर्ने दाताहरुलाई पूर्वराष्ट्रपतिबाट सम्मानपत्र प्रदान गरिएको हो ।