झापा ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली कामदारको न्यूनतम तलब एक हजार दिराम भन्दा कम भए मागपत्र प्रमाणीकरण नगर्ने भएको छ ।

श्रममन्त्री शरतसिंह भण्डारीले बिहीबार यूएई जाने कामदारको न्यूनतम तलब निर्धारण गर्ने निर्णय गरेका हुन् । उनले यूएई जाने कामदारका लागि एक हजार दिराम भन्दा कम तलबको मागपत्र प्रमाणीकरण नहुने बताएका छन् ।
मन्त्री भण्डारीले यूएईस्थित नेपाली दूतावासको सुझावमा न्यूनतम तलब एक हजार दिराम हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरिय निर्णय गरिएको बताए ।
यूएई जाने कामदारको हकमा यसअघि ८ सय, एक हजार र १२ सय दिराम तलबको अनुपात लागू थियो । तर, अब अदक्ष, अर्धदक्ष र दक्ष कामदारको क्रमशः न्यून्तम एक हजार, १२ सय र १५ सय दिराम तलब निर्धारण गरिएको छ ।