झापा । 

वैदेशिक रोजगार विभागले विदेशस्थित नेपाली राजदूतावासबाट मागपत्र प्रमाणीकरण भएर विभागको प्रणालीमा अपलोड भएर व्यवसायीले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ । 

विभागमा दुई हप्ताअघि आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त महानिर्देशक कमलप्रसाद भट्टराईले रीतपूर्वक अनलाइन दरखास्त गरेपछि आवेदन दिएकै दिन  ‘वर्क परमिट अन द सेम डे’को मान्यताअनुसार श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गरिने जानकारी दिएका थिए । 

विभागको श्रम स्वीकृति शाखाका निर्देशक उपेन्द्रराज पौडेलले सो प्रतिबद्धताअनुसार सोमबारदेखि तत्काल श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गरिएको र वैदेशिक रोजगार व्यवसायीलाई त्यसको जानकारी गराइएको बताएका छन् । 

पौडेलले विभागले प्रदान गर्ने श्रम स्वीकृतिको कार्यलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन नवीनतम प्रविधिबाट काम गर्ने भन्दै वैदेशिक रोजगारी सम्बन्धी ठगी, राहत, उद्धार, अनुगमन र नियमन थप प्रभावकारी बनाउन अन्य कदमहरू पनि चालिएको बताएका छन् ।