बिर्तामोड ।
सार्वजनिक यातायात व्यवसायीहरुले बन्दको दोस्रो दिन पनि झापासहित देशभर यातायात ठप्प पारेका छन् । सरकार र सिन्डिकेट पक्षधर व्यवसायी सम्मिलित कार्यदलले सोमबार मध्यरातसम्म छलफल गरी ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्न गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भएपनि कार्यान्वयन नभएसम्म यातायात बन्द फिर्ता नलिने नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ झापा कोषाध्यक्ष धनबहादुर गिरीले जानकारी दिएका छन् ।

कार्यदलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहमतिको जानकारी दिने, मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रधानमन्त्री कार्यालयले गण्डकी सरकारलाई स्थगनका लागि पत्राचार गर्ने सहमति पनि राति नै भएको छ।
संघीय सरकारसँग सहमति भए पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात बन्द भने तत्काल फिर्ता नगर्ने जनाएको छ। महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले गण्डकी सरकारले नियमावली स्थगन गरेपछि मात्रै बन्द कार्यक्रम फिर्ता लिने बताएका छन्। नियमावली स्थगनको सहमति प्रदेश सरकारसम्म फास्ट ट्रयाकबाट पुग्नेछ र स्थगन भएको घोषणा भएपछि यातायात सुचारु गरिने स्वाँरले बताएका छन् ।
गण्डकी प्रदेशले ‘निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीले सार्वजनिक सवारी सरह यात्रु ओसारपसार गर्न सक्ने व्यवस्था’ गरेकामा यातायात व्यवसायीले सिन्डिकेट प्रदर्शन गर्दै गृह प्रशासनलाई चुनौती दिएका हुन् ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको मागसहितका बिभिन्न माग गर्दै व्यवसायीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । नेपाल ट्रक यातायात ब्यवसायी महासंघ, ढुवानी ब्यवसायी महासंघ र चार वटा मजदुर संघले सयुक्त आन्दोलन गर्ने निर्णय गरेका थिए । यातायात व्यवसायी र सरकारबिच अहिले पनि वार्ता भइरहेको छ ।