झापा । 

यातायात व्यवसायीले सोमबारदेखि झापासहित देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा आज सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको हो । 

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको मागसहितका बिभिन्न माग गर्दै व्यवसायीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । 

यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ झापा कोषाध्यक्ष धनबहादुर गिरीले जानकारी दिए । उनका अनुसार नेपाल ट्रक यातायात ब्यवसायी महासंघ, ढुवानी ब्यवसायी महासंघ र चार वटा मजदुर संघले सयुक्त आन्दोलन गर्ने निर्णय भएको हो । 

यसैबिच आइतबार ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नामबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२/२/१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ ।’