झापा ।
मुलुकका सातै प्रदेशका मुख्य नदीहरु र रारातालको पानी संकलन गरी झापाका काफ्ले बन्धुहरुले मेची नदीमा समायोजन गरेका छन् । काफ्लेको उद्गमस्थल जुम्ला जिल्लाको सिंजा उपत्यका अवलोकन भ्रमणमा गएको बन्धुहरुको टोलीले रारातालसहित महाकाली नदीदेखि कनकाई नदीसम्मको पानी संकलन गरेर ल्याएको हो ।

गत बैशाख २६ गते झापाबाट सातजना बन्धुहरु जुम्लाको सिंजाका लागि प्रस्थान गरेका र फर्कनेक्रममा महाकालीको शारदा ब्यारेज, दोधारा चाँदनी अवलोकन गर्दै पूर्व आउने क्रममा पानी संकलन गरिएको थियो ।
महाकालीसहित पूर्वका सबै मुख्य नदीको पानी मेचीमा समायोजन गर्ने सोचाइका विषयमा काफ्ले समाजका केन्द्रीय सदस्य तोयानाथ काफ्ले भन्छन्, ‘काफ्ले थर एउटा भए पनि यसभित्र अनेकता रहेछ । संस्था दर्ता पनि अनेक भएछन् । गोत्र पनि शाण्डिल्यमात्र थाहा थियो शावर्णी पनि लेखिन थालिएछ । पूर्वी पहाडी जिल्लामा साजी र बासी काफ्लेको भेद पनि रहेछ । यी सबै वर्ग र भेदहरु काफ्लेमा नरहोस्, सिंगो नेपालका काफ्लेहरुको एउटै संस्था बनाउन सबै बन्धुहरुमा ध्यानाकर्षण होस् भन्ने हेतुले यो कार्यक्रमको सोच बनाएका हौं ।’
सिंजा भ्रमण दलमा काफ्ले समाजका केन्द्रीय सदस्य तोयानाथ, झापा जिल्ला कार्यसमिति अध्यक्ष गोपाल, कोषाध्यक्ष रमेशकुमार, सदस्य दुर्गाकुमारी, दमक नगर कार्यसमिति अध्यक्ष ओमप्रकाश, बिर्तामोड नगर कार्यसमिति उपाध्यक्ष कुमार र सदस्य दिना सहभागी थिए ।
झापा जिल्ला कार्यसमितिका कोषाध्यक्ष रमेशकुमारका अनुसार भ्रमणका क्रममा मुगु जिल्लाको राराताल, महाकाली नदी, कर्णाली नदी, राप्ती नदी, नारायणी नदी, बागमती नदी, कमला नदी, कोशी नदी र झापाको कनकाई नदीको पानी संकलन गरिएको थियो । उक्त पानी बिहीबार गणतन्त्र दिवसको अवसरमा मेची नदीमा विसर्जन गरिएको हो ।
विभिन्न नदीहरुको पानी मेचीमा समायोजन गर्न गणतन्त्र दिवसको सन्दर्भ किन पारियो भन्ने विषयमा झापा जिल्ला कार्यसमितिका अध्यक्ष गोपाल काफ्ले भन्छन्, केही दिन पहिले नै यात्रा पूरा भएको एक–दुई दिनमा गर्ने तयारी थियो । तर समय व्यवस्थापन गर्दा गर्दा यही दिन जुरेको हो । तर आजको दिन राजनीतिकरुपमा पूर्ण स्वतन्त्रता पाएको दिन, हामीले संघ–संस्था खोल्ने र सञ्चालन गर्ने अधिकार प्राप्त गरेको दिन, अझ भनौं निर्वाधरुपमा देश दर्शन गर्न पाउने अवस्था बनेको दिनका रुपमा बुझेर यो दिन रोजिएको हो ।’
हामीले काफ्लेहरुको मात्र एकता भनेका छैनौं, देशभरका नदीहरु जसरी निश्छल बगिरहेका छन्, त्यसैगरी नेपालका राजनीतिक दलहरु पनि आफ्नो कर्तब्य पथमा निरन्तर लागिरहुन्, जनताले दलबाट दुःख नपाउन् भन्ने अपेक्षालाई पनि पानी संकलन र समायोजनको विषय बनाइएको अध्यक्ष काफ्लेको भनाई छ ।
समृद्ध नेपाली खुसी काफ्लेहरुको आकांक्षा पूरा गर्दै विदेशिएका सबै काफ्लेहरु स्वदेशमै बसेर सृजनशिल काम गर्ने सक्ने वातावरण एवम् मेलमिलाप रहोस् भन्ने कामना पनि हो, उनले थपेका छन् ।
भ्रमण दलका ४ जनासहित काफ्ले समाज झापा जिल्ला कार्यसमितिका सदस्य होमनाथ काफ्लेको उपस्थितिमा बिहीबार मध्यान्ह १२ बजे मेची नदीमा जल समायोजन गरिएको बिर्तामोड नगर कार्यसमिति उपाध्यक्ष कुमार काफ्लेले बताए । सबै स्थान र नदीहरुबाट पानी संकलन गर्दै गरेको फोटो र भिडियो खिचेकोले सो सम्बन्धी सामग्री पछि उत्पादन गरिने उपाध्यक्ष कुमारले बताए ।