झापा ।
आज कोशी, मधेस र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी प्रदेशका केही स्थानहरू, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
सुदूरपश्चिम, लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कोशी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।